
लघुकथा:- घरबेटी बा!
तारा के.सी
बिहानै काेठामा घरबेटी बा अाएर भने –
” हेर हरिकृष्ण ! तिम्राे छाेरी नर्सलाई कि जागीर छाेड भने कि काेठा खाली गरिदिऊ।”
घरबेटी बाकाे स्वार्थी कुरा सुनेर हरिकृष्णले भने-
” कस्ताे कुरा गर्नु भाकाे घरबेटी बा! यस्ताे स्थितिमा डाक्टर नर्सले जागीर छाेडे, कस्ले उपचार गर्छ बिरामीकाे “?
” मलाई अरू थहाँ छैन हरिकृष्ण ! मैले भनिसके। तिम्राे छाेरीकाे कारण काेराेना हामीलाई पनि सर्न के बेर “?
कस्ता कस्ता मान्छे बसेछन् मेराे घरमा भन्दै फत्फताउदै घरबेटी बा तल्लाे तलातिर लागे।
तल्लाे तलामा बस्ने बिधार्थी भाइहरूसित पनि उनी त्यसरी नै कराए जसरी हरिकृष्णसँग कराएका थिए।
” दुई महिना भयाे भाडा नदिएकाे, दिनु पर्दैन अब।”
बिधार्थी भाइले विनम्र भएर भने –
” घरबेटी बा! समस्या छ हाम्राे पनि। घरबाट पैसा पठाउने माध्यम छैन। लकडाउनले कतै निस्कन पाकाे छैन। हाम्राे समस्या बुझिदिनु पर्याे। लकडाउन खुलेपछि तिर्छाै भाडा घरबेटी बा! फेरि सरकारले पनि दुई महिनाकाे घरभाडा छुट भनेकाे छ नि त ”
उत्तरमा घरबेटी बा जंगिए ।
” उसाेभए तिमी सरकारकाेमै गएर बस न त। किन भाडा तिर्छाै ? मेराे घर सार्वजनिक ठाउँ हाे र , भाडा नलाग्ने ? मैले बैंकबाट ऋण लिएर बनाएकाे घर। मिनाहा गर्छ बैकले मेराे ऋण? बत्ती, पानीकाे शुल्क मिनाहा गर्छ सरकारले?कर छुट गर्छ? साेधेर अाऊ तिम्राे सरकारलाई अनि म पनि भाडा छुटकाे बारेमा साेचाैला।”
घरबेटी बा रिसाएपछि बिधार्थी भाइहरू चुप लागे। घरबेटी रिसाउदै अर्काे काेठामा छिरे। गाडीमा काम गर्ने भाइले दालमाेढ चिउरा चपाउदै भन्याे –
” घरबेटी बा! मेराे पनि समस्या यस्तै छ।कयौं दिनदेखि घरमा चुलाे बलेकाे छैन। वर्डामा राहत बाँड्दै छ भनेर श्रीमती दिनभर लाइनमा बसी। बाहिरी जिल्लाकाे मान्छे भनेर फर्काइदिएछ। के गराै घरबेटी बा! काम हुदा त शुरूमै दिन्थे घरभाडा अहिले समस्यामा परे।”
घरबेटी बा केही नबाेली अाफ्नाे काेठातर्फ लागे र बुढीलाई भने-
” बुढी! भरेदेखि हाम्राे पनि चुलाे नबल्ने भयाे।”
काठमाडौं ।