लघुकथा- उपदेश
रिमबाबु राना
ऊ सिमाभन्दा पनि बढी व्यवसायिक थियो । नाफाको लागि ऊ जस्तोसुकै काम गर्न हिच्किचाउदैनथ्यो ।
उसले आफ्नो छोरालाई पनि सोही बाटोमा डोर्याउन चाहन्थ्यो । दैनिक उपदेश दिन्थे- “हेर छोरा, अहिलेको जमानामा धन नै सबैभन्दा ठुलो हो । धनले सबै सुख सुविधा जुटाउन सक्दछ । त्यसैले धनलाई चिन्न सक्नुपर्छ । फाइदा नआउने काममा एक पैसा पनि खर्च गर्नुहुन्न ।”
बाँसको जरामा बाँस नै उम्रियो । उसको छोराले दान, चन्दाको नाममा एक पैसा पनि खर्च गरेन । ऊ एक दशकमै नवधनाध्यको सूचीमा पर्यो। त्यतिञ्जेलमा उसको बा वृद्ध भइसकेको थियोे ।
‘काम गर्न नसक्ने यस्तो वृद्ध बालाई पालेर फाइदा छैन’ भन्ने सोचेर छोराले बालाई वृद्धाश्रम लगेर छोड्यो ।
(स्याङ्जा )