दाइको नाममा मात्रै जग्गा पास गरिदिएपछि बाबुको हत्या

everest kitchen

सर्लाही । आफ्नै बुबा ७० वर्षीय राम अधिन रायको कर्तव्य गरी हत्या गरेको अभियोगमा बसवरिया गाउँपालिका-५ धनगढा टोल बस्ने ३५ वर्षीय बिनोद रायलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राम अधिनलाई आफ्नै गोठको आँगनमा कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले राम अधिनको शव फेला पारेको हो । अभियुक्तको तत्काल खोजी गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा विनोदलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राम अधिनले जग्गा जमिन अभियुक्तका दाइको नाममा मात्रै पास गरिदिएको विषयलाई लिएर बाबु सुतिरहेको अवस्थामा बाँसको लठ्ठीले शरीरका विभिन्न भागमा प्रहार गरी मारेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । घटनामा प्रयोग भएको बाँसको लठ्ठी लगायतका सामान प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।