रक्सीको असर : तिलक तारामी “रेशाली”

तिलक तारामी “रेशाली”

लघुकथा :- रक्सीको असर
तिलक तारामी “रेशाली”

पल्लाघरे काकी भुनभुनाउँदै थिइन्, ” हैन यो कुकुरको झोल पनि कति धोक्न सकेको? एक दिन हैन दुई हैन, बाह्रै मासे!”
काकाले उल्टै थर्काउँदै थिए, “खाएँ त खाएँ, मेरो सम्पति खाएँ। तेरो बाउको खाएको छैन क्यारे।”
“मैले तिम्रै लागि भेनेको त हो नि। रक्सी स्वास्थ्यको लागि हानिकारक छ। यसले फाइदा गर्दैन।”
“ए रातै! अझै मुख मुखै लाग्छे।” भन्दै काकाले झागंल झुगुंल पारे।

भोलिपल्ट विहानै काकी माइत गइन्। एक महिना पुग्यो फर्किनन्। काका लिन गए।
“जान्न म, किन आएको? एक्लै बस्नु नि।”
काकाले दुबै हातले कान समात्दै भने, “तिम्रो कसम! अब खान्न।”
काकीको मन पग्लियो। त्यसोभा “ल हिंड।” भनिन्। दुबै जना घर आए।

“सानैदेखि लागेको बानी, सिस्नु पानी लाए नि नजानी!” भने झैं फेरि शुरू गरे काकाले।
काकीको रिसको पारो चढ्यो र भनिन्, “आफ्नो बाचा कसम बिर्स्यौ? किन, खायौ फेरि?”
सजिलो उत्तर दिए काकाले, “कोरोनाबाट बच्न, रक्सिले कोरोना मर्छ रे! ”
“हैन् , बहाना पनि कति बनाउन सकेको?” हरे भगवान ! यस्तासंग कसरी काट्ने होला जिन्दगी?” काकीले आफैलाई प्रश्न गरिन्।
काकाको धोक्ने क्रमले निरन्तरता पाइरह्यो।

एक दिन काका अचानक सिकिस्त बिरामी भए। काकीले अस्पताल लगिस् । परीक्षण पश्चात डाक्टरले भने, “जन्डिसले गर्दा उहाँको कलेजोले काम गर्न छोडेको छ। हि इज नो मोर, वी आर सरी।”
काकी बेहोस हुँदै बर्बराइन् -“ए बुढा! त्यो रक्सीले कसलाई खायो?, कोरोनालाई कि तिमीलाई?”

८ जेठ, २०७७
बुटवल-११, रुपन्देही ।