मेगराज खड्का
रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा शनिबार साँझ घटेको घटना अहिले देशभरीमा एउटा चर्चा र चासोको बिषय भएको छ । संसद, सडक, स्थानीय तथा राष्ट्रिय संचारमाध्यमहरुमा प्रमुखताका साथ समाचार तथा अन्य सामाग्रीहरु आईरहेका छन । यसभित्र कति सत्य कुराहरु आए, कति भ्रमहरु फिजाईए र अनुसन्धानको कसरी भईरहेको त्यो फरक कुरा हो । घटनालाई अतिरञ्जित गर्न जाजरकोटमा दर्जनौं युट्युवरहरु पुगेर मृतकका परिवारहरुलाई थप पिडा दिने काम पनि भएको भन्दै सामाजिक संजालमा आलोचनाहरु पनि भैरहेका छन । घटनाका बिषयमा केहि उठेका प्रश्न, फैलाईएका भ्रम, अहिलेसम्मको यथार्त र अनुसन्धान प्रकृयाका बिषयमा केहि उजागर गर्ने मैले प्रयास गरेको छु ।
के हो चौरजहारी घटना ?
रुकुम चौरजहारी घटना एउटा दुखद र जघन्य घटना हो । घटना हुनुपूर्वका दुबै पक्षका बिभिन्न कमीकमजोरी, घटनाक्रमहरु बाहिरिएका छन । तर यस अवस्थामा ती सबै बिषयहरु सहायक बिषय भएका छन । किनकी ५ जना मान्छेको ज्यान गएको छ, एक जना बेपत्ता छन । यस अर्थमा पिडितले न्याय पाउनुपर्छ, दोषीलाई हदैसम्मका सजाय हुनुपर्छ । यसका लागि उक्त घटना कानुनी प्रकृयामा प्रवेश गरेको छ । मृतक परिवारका तर्फबाट किटानी जाहेरी दर्ता भैसकेको छ । जसअनुसार १८ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरि अदालतबाट समेत १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । घटनाको भित्रि कारण र बिषयमा आधिकारिक रुपमा प्रहरीले कुनै पनि कुराहरु सार्वजनिक गरेको छैन ।
सार्वजनिक गरेको छ त केवल बिहे र प्रेम समन्धका बिषयमा उक्त घटना घटेको, केटा पक्षका ५ जनाको शव फेला गरेको, एक जना बेपत्ता भएको, घटनाको आशंका र किटानी दर्ताको आधारमा केटि पक्षका १८ जना पक्राउ परेको र अन्य कारणहरुको बिषयमा रुकुम पश्चिम र जाजरकोट प्रहरी लगायतका निकायहरुबाट अनुसन्धान भैरहेको मात्र बताएको छ । घटनाको बिषयमा केटा र केटि पक्षका बिषयहरु लिएर आआफ्नै तर्फ र धारणाहरु सार्वजनिक हुने क्रम भने रोकिएको छैनन् । अहिले सम्म उक्त घटनाको बिषयमा अधिकारकर्मीहरुले पनि अनुगमन त गरेका छन तर कुनै स्वतन्त्र अध्ययन प्रतिबेदन सार्वजनिक गरेका छैनन् । जसका कारण केटा र केटि पक्षका कुराहरु नै बिश्लेषण भैरहेका हुन । जस अनुसार केटा पक्षको आफन्तजन तथा साथीहरुको अनुसार जाजरकोटबाट नबराज बिक आफ्नो १९ जना साथीहरु ल्याएर रुकुम पश्चिम चौरजहारी नगरपालिका स्थित सोती गाउँमा एक मल्ल थरकी केटि भगाउन आएका थिए । केटा केटीहरुको सम्बन्ध राम्रो थियो, केटिले नै केटालाई फोन गरेर आफुलाई लिन डाकेकी थिईन । जब उनीहरु केटिको घरनजिक आए तब केटिको आफन्तजनहरुले दलित भेदभाव गर्दै, दलितलाई छोरी नलिने भन्दै गालि गरियो, लखेटियो, कुटियो मारियो र गाउँ नजिकैबाट बग्ने भेरि नदिमा बगाईयो । उता केटि पक्षका आफन्तको कुरा अनुसार साँझको समय थियो, लकडाउनको समय थियो, जसका कारण जाजरकोटबाट १९/२० जनाको समुह गाउँमा आउदा, केटीको घरनजिक पुगेर होहल्ला गर्दा कहाँ के भयो भनेर गाउँलेहरु जम्मा भएको र लकडाउनको समयमा किन यत्रो मान्छे बाहिरबाट आएको भनेर बादबिबादहरु र झगडा हुँदा भागदौड हुन पुगेको र यस क्रममा भेरी नदिमा बगेर उनीहरुको ज्यान गएको हुनसक्ने बताएका छन । उनीहरुले अन्तरजातीय भेदभावका कारण घटना घटेको भनाईप्रति सहमत छैनन् । यस बिषयमा मैले माथी पनि भने हत्या हो या, भबितब्य दुर्घटना प्रहरी प्रशासनले अनुसन्धान भैरहेको, पोष्टमार्टम रिपोर्ट नआएको बताउदै आएको छ । प्रहरी प्रशासनको अनुसन्धान, पोर्ष्टमार्टम रिपोर्टपछि घटनाको पक्कै पनि सत्यतथ्य बाहिर आउने छ, र पीडितले न्याय पाउनेछन ।
उक्त घटना घट्नुको कारण के अन्तरजातीय विभेद मात्र हो त ?
यो घटनामा अन्य कारणहरु सगै अन्तरजातीय प्रेम सम्बन्ध पनि एउटा कारण हुनपनि सक्छ । तर जातीय बिभेदमात्र कारण हो भन्ने अहिले सम्म कुनै आधिकारिक पुष्टि भने भएको छैन । अर्को कुरा उक्त घटनामा केटाको पक्षबाट आएका सबै दलित मात्र छैनन् । शाही, बुढा, मगर र अन्य पनि छन । केटा पक्षकै तर्फबाट आउने १८ जना मध्य आएका एक जना जाजरकोटकै गोबिन्द शाही यो सामाग्री तयार पार्दासम्म बेपत्ता छैन छन । यसको मतलव उक्त घटनामा केटा र केटिको तर्फबाट दलित, जनजाती र कथित ठुलो जात भनिने मल्ल ठकुरीहरु पनि सहभागी छन । तर मृतकका परिवारले यो घटना घट्नुमा अन्तरजातीय बिभेदकै रुपमा लिएका कारण केहिले त्यस बिषय पनि अर्थ्याएका छन । तर केटी पक्षका आफन्तहरुले अन्तरजातीय भनेर बिभेदलाई स्वीकार गरेका छैनन् । उनीहरुले गाउँको लागि यो नौलो कुनै अन्तरजातीय प्रेम वा विवाहको बिषय नै नभएको बताएका छन । सोती गाउँमा नै दलितको छोरी मल्ल परिवारले र मल्ल परिवारले दलितको छोरी लिएर कुनै भेदभावबिनै सहज तरिकाले घरव्यवहार चलाएको तिनचार वटै उदारहणहरु छन । त्यसकारण दलित र गैरदलित बिचको खाडल नै समस्याको म्लु जड हो भन्ने हालसम्म कुनै आधिकारिक पुष्टि छैन । सोहि गाउँकी मल्ल परियारकै छोरी यमुना मल्लले सल्यान श्रीनगर स्थित बिष्णु चनारासंग अन्तरजातीय विहे गरेकी छिन । मल्ल परियारकै अर्की छोरी रोजी मल्लले चौरजहारीकै संगम सुनारसंग अन्तरजातीय विहे गरेकी छिन । गत मंसिरमै गाउँकै निमवहादुर मल्लले सिता बिकसंग अन्तरजातीय प्रेम विवाह गरेका छन ।
जसरी उक्त घटना वडा अध्यक्षले जातीय भेदभाव गरेको र उनकै नेतृत्वमा घटना घटाईएको भनिएको छ उनी आफैले पनि पुन मगरकी छोरी विहे गरेका छन । यसको मतलव वडा अध्यक्ष वा अन्यले गाउँमा अन्तरजातीय बिहे गर्दैमा ति ब्यक्तिहरु अन्य अपराधमा संलग्न हुदैन भन्ने मेरो तर्क होईन तर यसअघि अन्य तिनचार वटा अन्तरजातीय बिहे स्वीकारी सकेको उक्त मल्ल परिवारले यसपटक कसरी अन्तरजातीय बिभेद भयो, वा उक्त घटना घट्यो त्यो भने फरक पाटो र अनुसन्धानकै बिषय छ, र बनाउनु पर्छ ।
के भेरी भदिमा भेटिएको शव डोरीले बाँधिएको अवस्थामा थियो ?
घटनामा बेत्तपा भएका ६ जना मध्य चौथो जनाको शव भेटियो । त्यसबेला उक्त शव डोरीले बाँधिएको अवस्थामा फेला परेको भनेर स्थानीय तथा राष्ट्रिय संचारमाध्यामहरुमा पनि समाचार आयो । समाचार आएको केहि समय पछि केहि सञ्चार माध्यामहरुले उक्त समाचारहरु सच्याएको पनि पाईयो । के भेरी भदिमा भेटिएको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको हो त ? प्रहरीले त्यसलाई पुष्टि गरेको छ त ? पक्कै पनि उक्त बिषयमा प्रहरीले पुष्टि गरेको छैन । केहि स्थानीयको हवाला दिदै उक्त समाचार बनाईएको छ । राष्ट्रिय स्तरमा समेत छापिएका उक्त शिर्षक र बिषयका समाचारमा पनि शव डोरिले बाँधिएको बिषयमा जाजरकोट प्रहरीले बताएको छैन ।
प्रहरीले उक्त शवको एउटा हातमा माछा मार्ने जाल मात्र बेरिएको बताएको छ । यसले गर्दा प्रहरीको पुष्टि बिनै पत्रकार, सामाजिक संजाल प्रयोगकर्ता र युट्युबरका कारण भाईरल भएको देखिन्छ । अपराधजन्य बिषयहरुमा प्रहरीको पुष्टि बिनाका समाचारहरु आधिकारिता हुने पत्रकारिता सिद्धान्त अभ्यास छैन । जे जसरी र जुन उदेश्यका लागि भएको भएपनि यो भ्रम हो । बिस्तृत बिषय पोष्टमार्टम रिपोर्ट पछि पक्कै पनि आउनेछ । त्यस्तै केटि गर्भवति रहेको बिषयमा पनि युट्युबहरु मार्फत अहिले त्यो कुरा भाईरल भैरहेको छ । तर अहिलेसम्म त्यो बिषय पनि प्रहरीले आधिकारिक पुष्टि गरेको छैन । हुनपनि सक्छ नहुन पनि सक्छ । केटिको स्वास्थ्य परिक्षणपछि पक्कै पनि त्यो बिषय स्पष्ट हुनेनैछ ।
के यो घटना रुकुम र जारकोटको लडाई हो ?
घटना घटेपछि जातीय भेदभावको रुपमा मात्र नहेरेर उक्त बिषयलाई केहिले रुकुम र जाजरकोटको लडाईको रुपमा पनि हेरेर थप सामाजिक सदभाव र क्षेत्रियताको बिषय पनि कोट्याउन खाजेका देखिन्छन । यो आफैमा अर्को दुखद कुरा हो । त्यसो पक्कै पनि होईन र हुनुपनि हुदैन । उक्त जाजरकोटका केटा पक्षकै तर्फबाट रुकुम पश्चिम चौरजहारीकै टिकाराम सुनार पनि थिए र उनले पनि घटनामै ज्यान गुमाउनु परेको छ । दोस्रो दिन उनको पनि शव भेरी नदिमा भेटिएको थियो । भनेपछि उक्त घटना केवल रुकुम र जाजरकोटको मात्र होईन । जसमा केटापक्षको तर्फबाट त्यहि रुकुम चौरजहारी नगरपालिकाकै स्थानीय युवाहरु पनि साथमा गएका थिए ।
अर्को कुरा घटनालाई राजनीतिकरण काग्रेस बिरुद्ध नेकपा, नेकपा बिरुद्ध काग्रेस, रुकुम पश्चिमका सांसद तथा पूर्व गृहमन्त्री जर्नादन शर्मा र जाजरकोटका सांसद तथा पूर्व गृह मन्क्री शत्ति बस्नेतको बिरुद्धमा पनि जसरी प्रचारबाजी भैरहेको छ यसले घटनालाई थप राजनीतिकरण गर्न मलजल गरेको छ । यो एउटा जघन्य अपराधको रुपमा देखिएको घटनालाई यहि मौकामा एउटा पार्टीले अर्को फार्टीलाई र एक ब्यक्तिले अर्को ब्यत्तिलाई वा अन्य बिषयमा हिलो छ्यापाछ्याप गर्नु राम्रो होईन । दुबै जिल्लामा सांसदहरुले पनि घटनालाई राजनीतिकरण हुन जोगाएर, सत्य, तथ्य छानबिन, मृतक परिवारलाई न्याय र राहत उपलब्ध गराउनमा नै केन्द्रित हुनुपर्छ ।
जातीय बिभेद बाहेकका अन्य तर्कबितर्क ?
घटनामा घटेपछि केटा र केटि पक्षको तर्फबाट आएका कुराहरुलाई आआफ्नो धारणा बनाएर टिप्पनी र तर्कबितर्क बढेका छन । उक्त घटनामा एउटा मुख्य कुरा त जातीय बिभेद भनेर आएको छ नै त्यसपछि अन्य केहि बिषयहरुमा पनि बाहिरिएका छन । त्यसबिचमा एउटा हो बालबिबाह । स्थानीय प्रहरी र संसदमा गृहमन्त्रीले दिएको जवाफमा पनि केटिको उमेर १७ बर्ष छ । के दलितको युवाले १७ बर्षकी बालिकालाई बिहे गर्न पाईन्छ ? दलितलाई बालबिबाह गर्न छुट छ ? जातीय भेदभाव जस्तै बालबिबाह पनि सामाजिक तथा कानुनी अपराध होईन भन्ने पनि तर्कबितर्क र प्रश्न नउठेको होईन । त्यस्तै प्रेम नै भएको भए १९/२० जनाको जमात नै लिएर जान आवश्यक थियो त ? अन्य कुनै यसअघिका बिबादित घटनाक्रमले पनि उत्तेजित रुपमा लियो की ? केटिले नै आफुलाई लिन बोलाएको सत्य रहेछ भने पनि के उमेर नपुगेको बालिकाले गरेको निर्णय सहि ठहर्छ ? के तपाईको घरमा अभिभावकको स्वीकृतिबिना ठुलै जमातले छोरीलाई तानेर लिन लाग्यो भने परिवारले प्रतिकार गर्न पाउछ वा पाउदैन । वा दुबै पक्षले सचेतना वा संबेदनशिनता नअपनाउन सक्दा यस्तो घटना घटेको हो ? यी र यस्तै थुपैं प्रश्न र प्रतिप्रश्न पनि नउब्जिएका होईनन । यी सबै प्रश्न प्रतिप्रश्नको जवाफ आउने गरि र त्यसपछि सृजित घटनालाई कसरी लिने जस्ता कुराहरु पक्कै पनि थप अनुसन्धानका क्रममा आउनेनै छन ।
घटनापछि आएका समाचारहरुले पत्रकार आचारसहिंता अपनाएका छ त ?
घटनापछि स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा धेरै समाचारहरु आएका छन । आएका समाचारहरु आआफ्नै तरिकाले स्रोत प्रयोग र बिश्लेषण गरिएका छन । केहि पत्रकारहरु पनि आफ्नो दायित्व भुलेर भावना डुबेका, पत्रकार आचारसहिंता उलंघन गरेका र युट्युबरहरुले झनै मानबीय सम्बेदना बिपरित मृतक परिवारलाई थप पिडा दिने खालका सामाग्रीहरु ल्याएको देखिन्छ । पत्रकार, न्यायाधिस, सुरक्षाकर्मी लगायतका अन्य सबै पेशाकर्मीहरुको पनि मन हुन्छ, भावना हुन्छ तर यी पेशाकर्मीहरुले आफ्नो कार्यालय र व्यवसायिकतामा त्यस्तो भावना पोख्नु हुदैन । पत्रकारिताको बिश्वव्यापी मान्यता भनेको सत्य, तथ्य, सन्तुलन र बिश्वसनियता हो ।
अपराध रिपोटिङको बिषयमा जबसम्म प्रहरी, प्रशासनको आधिकारिक धारणा आउदैन, जब सम्म अदालतको अन्तिम फैसला आउदैन तबसम्म को दोषी को निर्दोषी मिडियाले फैसल गर्ने बिषय होईन । यस बेला प्रहरी प्रशासनले भनेको प्रारम्भिक रिपोर्ट र दुबै पक्षका कुराहरुलाई समेटेर रिपोटिङ गर्नुबाहेक हामी कहाँ बिपल्प हुदैन । अहिले केहि बिषयमा केटा पक्षकाले भनेको कुरा मात्रै र केहिले केटि पक्षकाले भनेका कुरा मात्रैलाई मात्र एकपक्षिय लेखेको पनि पाईएको छ । जसमा प्रहरी अनुसन्धानको कुनै पुष्टि नै देखिदैन । अर्को कुरा पत्रकारले पत्रकार आचारसहिंताको पनि ख्याल गर्नुपर्छ । जिम्मेबार पत्रकारिता गर्नुपर्छ । जातीय, क्षेत्रिय तथा राजनीतिक समस्या बढाउने भन्दा पनि घटाउने खालका सामाग्री सम्प्रेषण गर्नुपर्छ । हृदयबिदारक र क्षतबिक्षत तस्बिरहरु सार्वजनिक गर्नु हुदैन । पीडितलाई थप पिडा दिने खालका सामाग्रीहरु राख्नु हुदैन । महिला, बालबालिका तथा अन्य संबेदनशिल कुराहरुमा गोपिनियता राखिदिनुपर्छ । उनीहरुको बाँकी जीवन पनि विचार गरिदिनुपर्छ । जवकी घटनाकी एक पक्ष बालिका आफै छिन । उनको फोटो, नाम तथा अन्य विवरणहरु बिभिन्न तरिकाले फेसबुकमा निकै भाईरल गराइएको छ । यो केवल पत्रकारले मात्र नभएर सामाजिक संजाल प्रयोगकर्ताहरुले पनि ध्यान दिने बिषय हो । त्यस्तै केटा र केटीको नक्कली फेसबुक आईडि र च्याटरुम बनाई सार्वजनिक गरेर घटनालाई थप तरङगीत बनाईरहेको अवस्था पनि देखिन्छ । त्यस्तै केहि युट्यव संचालकरुहले घटना स्थलमा पुगेर शव जलाउदै गरेका आफन्तजनललाई प्रश्न गर्ने, पिडामा थप पिडा दिने काम भएका छन ती पनि दुखद कुरा हुन ।
त्यस्ता बिषयहरु पनि रोकिनुपर्छ र त्यसमा संलग्नलाई नियामक निकायबाट कारबाही गरिनुपर्छ । सोही घटनाका विषयमा भ्रामक समाचार सामग्रीसंप्रेषण नगर्न र पत्रकार आचारसंहिताभित्र रहेर सत्यतथ्य समाचार सामग्रीमात्र संप्रेषण गर्न सञ्चारमाध्यम र युट्युव सञ्चालकहरुलाई नेपाल पत्रकार महासंघले पनि यसअघि नै बिज्ञप्ती जारी गरेर ध्यानाकर्षण तथा अपिल गरिसकेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत सत्यतथ्यमा आधारित अभिव्यक्ति सम्प्रेषण गर्न महासंघ आग्रह गरेको छ । यस बिषयमा जिल्ला स्थित पत्रकार महासंघहरुले पनि ध्यान दिन जरुरी छ । त्यसका साथै यसरी भ्रामक र कानुन बिपरितका कार्यहरु गर्ने ब्यक्तिहरु प्रतिपनि नियामक निकायहरु चनाखो हुन जरुर भैरहेको छ ।
(लेखक खड्का रुकुम पश्चिमबाट प्रकाशित हुने आहा सञ्चार साप्ताहिकका सम्पादक हुन )