एक्लेे डाँडाको रुखको बिलौना

देवेन्द्र सुर्केली

मेरो कुरा मान्छेले बुझ्छन् कि बुझ्दैनन्
तर म मान्छेको कुरा बुझ्छु
र त यो एक्ले डाँडामा मन थामेरै बसेको छु ।

बुझ्छौ भने सुन
म मेरो कथा सुनाउँछु
कुन कागले मलिलो फाँटमा सप्रिएको मेरो पुर्खाको फल खायो
र, यो निर्जन डाँडामा विष्ट्यायो
कागको पाचनप्रणालीले पचाउन नसकेको मेरो भ्रुण
सेकियो नाङ्गो डाँडामा लामो समय
सुकेर जानै लागेको प्राण
वर्षायामको पानीले जोगाइदियो
र, उम्रियो विरुवा ।
जब घर भयो मेरो त्यो निर्जन डाँडा
तब शुरु भयो मेरो दुर्गती
जाँडोको ठिहीले खाएर हरियो पातलाई कालो बनाएको त्यो क्षण
वर्षाको भेलले बगाउन खोजेको त्यो कालरात्री
खडेरीले सुकाएको जमिनमा पानी खोज्न घुस्रिएको मेरो जरा
मैले बाँच्न गरेको सङ्घर्षका कथा हुन्
मेरो त्यो सङ्घर्षले म अहिलेसम्म बाचेको छु
नत्र, कैयौ विरुवा खडेरीमा सुकेर मरे
कैयौ विरुवा ठिहीको जाडो कक्रिएर गए
कैयौ विरुवा वर्षायामको भेलसँगै बगेर गए ।

मेरो सङ्घर्ष मेरो लागि मात्र भएन
पानी खोज्न निस्किएका जराले
सिङ्गो डाँडालाई आड भएछ
खडेरीले सुकाएका मेरा छिमेकी डाँडाहरु
वर्षायामको पानीमा पहिरो बने
तर, मैले यो सिङ्गो डाँडालाई थामेको छु
तिमीहरु मेरो नजिक आएर भन्छौ–
यो रुखले गर्दा यो डाँडा बाँचेको छ ।

मेरा आँट मान्छेहरुलाई आँटिलो बनाउने प्रतिक बनेको छ
र त, मान्छेहरु मेरो फेदमा आएर घण्टौ रुन्छन्
अनि मलाई हेरेर आँटिलो भएर फर्कन्छन्
मेरो आडमा युवायुवतीहरु प्रेम गर्छन्, मेरो कसम खान्छन्
र, काम फत्ते भएपछि मलाई बिर्सन्छन्
मनै हारेकाहरु मेरै हाँगामा झुण्डिएर देह त्याग गर्छन्

म ‘एटलस’ हुँ
मलाई यो डाँडो थाम्न दिइएको छ
भार थामिरहेको छु, काँध फेर्दैफेर्दै
काँध फेर्दा आएको भुकम्पले
मान्छेको मनमा कम्पन आउँछ कि आउँदैन ?
साँच्चि मान्छेले मेरो कुरा बुझ्छ कि बुझ्दैन ?
तर म मान्छेको कुरा बुझ्छु
र त यो एक्ले डाँडामा मन थामेरै बसेको छु ।