सन्तानको आश : गोम बिक्रम

गोम बिक्रम

लघुकथा : सन्तानको आश
 गोम बिक्रम

“अहिले म दोश्रो प्रेमीको गर्भधारण गर्दैछु । अघिल्लो छोरा हुर्किसकेकोले दोश्रोको रहर थियो ।”
” बिहे कहिले गर्ने त ?”
“आफ्नै सन्तान भए पछि बिहेको अनिवार्यता देख्दिन म । अहिलेसम्म सोचेकी छैन । हेरौं ।”

विदेशी अभिनेत्रीको अन्तर्वार्ता हेर्दै थिएँ टिभीमा । उनी बिहे नगरी आफ्नो प्रेमीको सन्तान हुर्काउँदै, गर्भधारण गर्दै थिइन । सम्झिन्छु हामी कहाँ बिहे अघि गर्भधारण गरेकी साइलीले आत्ग्लानी र तिरस्कार सहन नसकेर आत्महत्या गरेकी थिई । हर्के दाई जस्ता नि : सन्तान दम्पतीका लागि त बिज्ञानले १९७८ मै बेलायतमा टेस्ट ट्युबबाट लुइस ब्राउन हुर्काएर देखाइसकेको थियोे । हर्के दाईका दम्पतीले निसन्तान नै ढुकुर जस्तै टुक्लुक्क दुइटाले आधा उमेर गुजार्दै थिए । उनकै दमाली जगदीश पौडेलले काठमाडौ गएर लाखौं खर्चेर दुइटा जुम्ल्याहा छोरा पाएर आए । उपल्लो गाउँका सितारामको हस्पिटलबाटै ग्रहण गरेको छोरो रमेश पनि अहिले ठूलै भइसकेको छ ।

म घोत्लिदै जान्छु बाहिर नसुनाए पनि नर्मदा भाउजुका तिनअोटै सन्तान बिर्खे दाईका होइन रहेछन् ,अनुहारले पनि कहलिन्छ । तिनलाई अरू कसैले उपकार गरेका थिए । हामीकहाँ बैंक खातामा पैसा जम्मा गर्न सकिदैन,अस्पतालमा ब्लड बैंक देख्छु । अझ विदेशमा त स्पर्म बैंक (विर्य बैंक )समेत खोलि सकेछन । विर्य दान गर्यो, धर्म कमायो, पैसा कमायो कति आनन्द । चाहिनेले विर्य, ,सन्तान जे पनि ग्रहण गर्न सक्दा रहेछन् । म तीन छक्क पर्छु ।

“कहाँ पुगेर भेड्कियौ हर्के दाई लाल जोडी भएर ? ” अागनमा टुप्लुक्क देखा परेका हर्के दाईलाई जिस्क्याउँछु ।
“भाउजूले कत्ति सुख नदिएर सन्तानेश्वर महादेवको दर्शन गरेर आएको । परार साल हरिवंश लाइयो कैयौं व्रत बसियो । यत्तिकै मरे ढोकामा तालै लाग्ने भो।माथि जाने बाटो उसै बन्द होला सम्पत्ति पनि कसले खाने ? वंश पनि चल्नु पर्यो अझै त आश मरेको छ‌ैन भाई !”

– कल्लाबारी, पाल्पा ।
२०७७ जेठ १७