दुई सामुदायिक वनका दुई कोषाध्यक्ष ३ लाख ३० हजार घुससहित पक्राउ

everest kitchen

सिन्धुली । तिनपाटन गाउँपालिका-१० औलडाँडास्थित दुधौली नगरपालिका-४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिन बहादुर घोले र जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ६१ वर्षीय तिर्थ बहादुर राना रहेका छन् ।
उक्त कुखुरा फर्मका पुराना काठहरु तिनपाटन गाउँपालिका-९ तर्फ लैजाने क्रममा उनीहरुले घुस रकम लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले मिन बहादुरको साथबाट ३ लाख रुपैयाँ र तिर्थ बहादुरको साथबाट ३० हजार ५ सय रुपैयाँ बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।