तत्वज्ञान: कुमार काफ्ले

कुमार काफ्ले

लघुकथा : तत्वज्ञान
कुमार काफ्ले

बखते सानैदेखि मुखिया उर्फ मुखियाको छोराको खेतबारीमा काम गर्दै आएको थियोे । काम गर्दै गर्दा एकदिन अचानक उसले सोच्यो, ‘यो जमिनमा कसको हक हुनुपर्ने हो ? कहिल्यै यहाँ खुट्टा नटेक्ने मुखियाको कि पसिनाले सिँचाइ गर्ने मेरो ?’

खनजोत गर्ने, रोप्ने, गोड्नेदेखि भित्र्याउनेसम्म सबै जिम्मा उसैको थियोे । जहानै लागेर काम गर्दा र पिँढीमा बसेर खाना खाँदा आफ्नो घर कुनचाहिं हो ? उसलाई शंका लाग्थ्यो ।

धेरै गाउँलेको विश्वास थियोे – ‘मुखिया हक्कीका छन् , बोलेको कुरा पुर्याउँछन् ।’ तर ऊ मुखियाले बोलेको कुरा कहिल्यै पुर्याउदैनन् भनेर ठोकुवा गर्न सक्थ्यो । प्रमाण यस्तो थियोे, काम लाउने बेला मुखिया सधैं भन्ने गर्थे – “यो तेरो आफ्नै घर हो बखते आफ्नै, आफ्नै सम्झेर काम गर्नू ।”

एकदिन खेतको कुनामा, चिउँडामा हात राखेर घोरिइरहेको थियोे ऊ । काम नगरी थकाइ मारेको देखेर मुखियाको रिसको पारो ह्वात्तै बढ्यो र कड्किदै भनें, “हैन, बखते तँ त साँच्चिकै ठग पो भएछस् त । अरुले भन्दा त मैले पत्याएको थिइनँ तर आज आफ्नै आँखाले देखें …. ।”
“होइन हजुर, भर्खरै बसेको हो । ज्यानमा अलि सञ्चो पनि …..”
“बहाना नबना …..”
“साँच्चै भनेको मुखिया…….”
“के को चेपारो घस्छस् एइ …..”
बखतेलाई पनि जङ चल्यो र कस्सियो, “साँच्चै तिमी त मुखिया होइनौ त है ! म पो भरममा परेछु, यस्तालाई मुखिया ठानेर । मुख्यौली त तिम्रो बाउक‌ै पालामा उडेको होइन र ?”