हृदयाघात जोकोहिलाई पनि हुन सक्छ, मुटुको सुरक्षानै पहिलो सावधानी हो

everest kitchen


काठमाडौँ । स्वस्थ रहने भन्नासाथ हामी शरीरको तौल नियन्त्रण गर्ने र मोटोपना घटाउने कुरा मात्रै गर्छौं । तर, स्वस्थ, जवान र चुस्त रहनको लागि मोटोपना घटाउनुमात्रै पर्याप्त छैन पक्कै पनि । हाम्रो शरीरका भित्री अंगहरुको हिफाजत पनि उत्तिकै आवश्यक छ । शरीरभित्रको अति महत्वपूर्ण एक अंग हो मुटु । शरीरका प्रत्येक अंगमा आवश्यक रगतको आपूर्ति गर्ने काम यसले गर्छ त्यसैले यसलाई स्वस्थ राख्न आवश्यक छ । तर, अहिलेको तनावयुक्त व्यस्त जीवनशैलीका कारण मुटुरोगीहरु बढिरहेका छन् । पहिले-पहिले उमेरदार मानिसहरुलाई मात्रै हुने मुटुसम्बन्धी समस्याले अहिले युवाहरुलाई पनि आफ्नो चपेटामा पार्न थालेको छ ।

मुटु स्वस्थ राख्न हामीले पहिले त तनाव हटाउनुपर्छ । त्यसपछि सक्रिय जीवनशैली अपनाएर र स्वस्थकर भोजन गरेर हामी मुटुलाई हिफाजत गर्न सक्छौं । यहाँ हामी मुटुलाई स्वस्थ राख्ने विभिन्न उपायहरुको चर्चा गर्दैछौं । भोजनमा फ्याट : फ्याट अर्थात बोसो हाम्रो भोजनको महत्वपूर्ण तत्व हो । यसले हाम्रो खानालाई स्वादिष्ट बनाउनुको साथसाथै तृप्त पनि बनाउँछ । स्वस्थ रहनको लागि असल फ्याट र खराब फ्याटको अन्तरलाई सही किसिमले बुझ्नुपर्छ । ‘द अमेरिकन हार्ट एसोसिएसन’ ले स्वस्थ रहनको लागि खानपानमा खराब -स्याचुरेटेड) फ्याटलाई असल -अनस्याचुरेटेड) फ्याटले विस्थापन गर्ने सल्लाह दिएको छ ।

राम्रो स्वास्थ्यको लागि हामीले भोजनमा मोनो स्याचुरेटेड वा पोली स्याचुरेटेड फ्याट समावेश गर्नुपर्छ । पोली स्याचुरेटेड फ्याटले रगतमा खराब कोलस्ट्रोलको स्तरलाई कम गर्छ जसको कारण मुटुसम्बन्धी रोगहरु र स्ट्रोकको खतरा कम हुन्छ । यसबाहेक फ्याटले शरीरमा कोषहरु बन्न र विकसित हुन पोषक तत्व पनि प्रदान गर्छ । खानामा यस्तो तेलको प्रयोग गर्नुहोस् जसमा स्याचुरेटेड फ्याटको मात्रा कम होस् । यसको लागि तपाईं मकै, जैतुन, बदाम, सोयाबिन वा सनफ्लावरको तेल प्रयोग गर्न सक्नुहुन्छ ।

लाभकारी माछा : माछा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । अन्य मासुजन्य पदार्थको तुलनामा यसमा स्याचुरेटेड फ्याटको मात्रा निकै कम हुन्छ । माछा ओमेगा फ्याटी एसिडको पनि राम्रो स्रोत हो । ईपीए र डीएचएजस्ता ओमेगा ३ फ्याटी एसिडहरु हाम्रो शरीरको लागि धेरै आवश्यक छन्, किनभने हाम्रो शरीरमा यसको निर्माण हुँदैन । यसलाई खानाको माध्यमबाट नै ग्रहण गर्न आवश्यक छ । यसका शाकाहारी स्रोतहरु ओखर, बदाम र सोयाबिन हुन् ।

ओमेगा ३ फ्याटी एसिडले शरीर सुन्निन -इन्फ्लेमेसन) कम गर्छ । इन्फ्लेमेसनको कारण रक्तनली क्षतिग्रस्त हुन्छ जसको कारण हृदयरोग वा स्ट्रोकको खतरा बढ्छ । साथै, यसले मुटुको धड्कनको उतारचढावलाई पनि नियन्त्रण गर्छ र मुटुलाई सुरक्षित राख्छ । हालै १५ सय वयस्क मानिसहरुमा गरिएको एक अध्ययनबाट ओमेगा ३ फ्याटी एसिड मष्तिस्कका लागि आवश्यक भएको पुष्टी भएको छ । अध्ययनअनुसार बच्चामा मष्तिस्कको सही विकासको लागि ईपीए र डीएचए आवश्यक छ । ओमेगा ३ फ्याटी एसिडले एकाग्रता बढाउन र कठिन कार्यहरु गर्ने क्षमता बढाउनमा पनि मद्दत गर्छ ।

हृदयरोगबाट पिडित मानिसहरु खानाको माध्यमले पर्याप्त ओमेगा ३ प्राप्त गर्न सक्दैनन् । यस्ता मानिसहरु डाक्टरको सल्लाह लिएर ‘सप्लिमेन्ट’ ग्रहण गर्न सक्छन् । यसैले कुनै पनि खाद्य पदार्थ ग्रहण गर्दा त्यसमा पोषणको स्तर जाँच्नुहोस् र त्यसमा स्याचुरेटेड फ्याटी एसिडहरुको मात्रा कति छ भन्ने पनि ख्याल गर्नुहोस् । मुटु रोगबाट कसरी जोगिने ? : मुटुरोगबाट जोगिनका लागि कम उमेरदेखि नै ध्यान पुर्‍याउनुपर्छ । युवावस्थामा मुटुसम्बन्धी रोग लाग्ने प्रमुख कारण धुम्रपान वा सुर्ति सेवन हो । यसलाई बन्द गर्न आवश्यक छ । यसबाहेक शारीरिक रुपले आफूलाई सक्रिय राख्नुपर्छ । तौल बढ्न नदिनु पनि उत्तिकै महत्वपूर्ण छ ।

सफ्ट डि्रङ्क्स, प्याकेटका जुस आदिको सेवन पनि गर्न कम गर्नुहोस् । सातामा एक पटकभन्दा बढि फास्टफुड वा प्रशोधित खानेकुराहरुको सेवन नगर्नुहोस् खानामा फलफूल र हरियो सागसब्जीको मात्रा बढाउनुहोस् ।दैनिक एकमुठ्ठी बदामको सेवन गर्नाले मुटुको स्वास्थ राम्रो हुन्छ । बदामले मुटुलाई स्वस्थ बनाउन आवश्यक मिनरल्स र फ्याटी एसिड प्रदान गर्छ । मुटुलाई सँधै जवान राख्नको लागि मानसिक तनाव कम गर्न पनि आवश्यक छ । यसको लागि योगा, एक्सरसाइज र मष्तिस्कलाई शान्त बनाउने अरु उपाय अपनाउनुहोस् ।

कम उमेरमा हृदयघात : एक अध्ययनअनुसार पश्चिमी देशहरुको तुलनामा दक्षिण एसियामा बस्ने मानिसहरुलाई १० वर्ष पहिले नै मुटुरोग लाग्ने गर्छ । कम उमेरमा हृदयघात हुनुमा वंशाणुगत कारणहरु पनि जिम्मेवार छन् । निष्कृय जीवनशैली, तनावपूर्ण काम, धुम्रपान, मदिरापान, चिनीयुक्त खानेकुरा र फास्टफुडको अत्याधिक सेवन यसका अन्य कारण हुन् । edeurali.com