सामानको मूल्य

लघुकथा — सामानको मूल्य
राजु क्षत्री ‘अपुरो ‘
•••••••••••••••••
दाह्री काट्ने मेसिन ट्वाइलेटमा खसालेपछि झिक्नु पर्दैन ? अस्ति साबुन खसाल्यौ, आज मेसिन खसालेछौ। अब दिसा ठेलिन्छ र बगेर जान मुस्किल हुन्छ । तिम्रो काम हो तिमी नै निकाल ती सामानहरू” – कम्पनीको एउटै आवासमा बसेका आफ्ना सहकर्मी साथीसँग अलि कडक भाषामा प्रस्तुत भए दिलिप तामाङ्ग ।

“शौचालयमामा कतिले दिसा पिसाब गर्छन् गर्छन् , त्यस्तो फोहर पानीमा कसरी हात हाल्नु ?, छि ..छि ..छि ..। म त मरिगए पनि हात हाल्दिन । बरु जाम भए होस् “- धनबिरेले लापरवाहीले जवाफ फर्कायो।

” माथी नै देखिएका छन् । हातमा प्लास्टिक लगाएर निकाल्नु नि ,या कुनै चिम्टाको सहारा लिनु” – दिलिपले उपाय सुझाए ।
अहँ , धनबिरेको मन पटक्कै मानेन । फतफताउँदै कामतिर हिँडे उनी ।

*******************

“होइन यो शौचालयभित्र पसेको पनि आधा घन्टा हुन लागिसक्यो, आन्द्राभुडी निस्कने गरि कने झैँ गर्छ त , के गरेर बसेको छ यो धनबिरे ? आफुलाई यहाँ दिसाले च्यापेर उकुसमुकुस बनाइसक्यो । ओइ मुला छिटो गर्न यार! “- बाहिरबाट बागलुङ्गको देव बहादुर चिच्याए ।

धनबिरेले भने -“ए पख न एकछिन , दिसा बस्दा पाइन्टबाट मोबाइल खसेछ यार, पुरै हात घुसाउँदा पनि मोबाइल भेटिएन, तेरो हात मेरो भन्दा अलि लामो छ पिलिज हेल्प गर न यार ।