ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा विरोध

everest kitchen

काठमाडौं, २६ जेठ । लिम्बू जातिको ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा नेपाल आदिवासी जनजाति महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

आइतबार महासंघको पाँचथर जिल्ला समितिद्वारा विज्ञप्ति जारी गरी रानीगाउँ (हाल कुम्मायक गाउँपालिका) वडा नम्बर ४ स्थित याक्थुङ (लिम्बू) सम्बाहाम्फेहरूको ऐतिहासिक समाधिस्थल मासेर पार्क विस्तार गर्न लागेकोप्रति ध्यानकर्षण भएको जनाएको हो ।

जिल्ला अध्यक्ष रिन्जी शेर्पाद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय सन्धी र महासन्धीहरूको प्रावधानविपरीत उक्त विस्तार कार्य गरिएको भन्दै स्थानीय लिम्बू जातिको इतिहास नामेट पार्ने षड्यन्त्र रचिएको बताइएको छ ।

‘‘जबर्जस्त रुपमा सम्बन्धित समुदायको परामर्शबिना नै याक्थुङ (लिम्बू)हरूको इतिहास नामेट गर्न गरिएको गम्भीर षड्यन्त्र हामी आदिवासीमाथिको प्रहार हो’, विज्ञप्तिमा भनिएको छ ।

साथै, विज्ञप्तिमा यसखाले ऐतिहासिक, प्राकृतिक र साँस्कृतिक सम्पदाको संरक्षण राज्यले गर्नुपर्नेमा उल्टै राज्यकोषको रकम खर्चेर समुदायको इतिहास नामेट पार्नु न्यायसंगत नहुने बताइएको छ ।

विज्ञप्तिमा साँस्कृतिक अतिक्रमणविरुद्धको आन्दोलनमा सहभागी हुन आह्वान गर्दै धार्मिक र साँस्कृति असहिष्णुता र सद्भाव खलबलिए स्थानीय सरकार र निर्माण समितिले जिम्मेवार हुने चेतावनी पनि दिइएको छ ।

त्यसैगरी पान्थर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, पाँचथरका अध्यक्ष सागर केरुङले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यको विरोध गरेको छ ।

विज्ञप्तिमा भनिएको छ –‘जिल्ला कुम्मायक गाउँपालिका वडा नं. ४ साविक रानिगाउँ गाविस वडा नं. ६ मा अवस्थित ऐतिहासिक स्थल तथा सम्बाहाम्फे लिम्बूहरुको समाधिस्थल रहेको ठाउँलाइ भत्काएर ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण गर्न गरिरहेको ऐतिहासिक, प्राकृतिक सम्पदा तथा साँस्कृतिक अतिक्रमणप्रति खेद प्रकट गर्दछौं । यस्तो क्रुर साँस्कृतिक अतिक्रमणविरुद्ध सम्पुर्ण न्यायप्रेमी नागरिकहरू एकजुट हुन अपिल गर्दै, उक्त निर्माण कार्यलाइ रोकेर तुरुन्त छलफल, बहसमा आउन सम्बन्धित निकायलाइ अनुरोध गर्दछौं । बेवास्ता गरे यसबाट हुने क्षतिप्रति सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने यसै प्रेस बिज्ञप्तीमार्फत जानकारी गराउँदछौँ ।’nayaonline