लिम्बूहरूको सामधिस्थल भत्काउँदै विभिन्न व्यक्तिको नाममा पार्क बनाएको समाचारहरू आइरहेका छन् ।
त्यस्तै घट्ना किरात भूमिमा पनि शुरु भएको छ । हालै राजामहाराजाहरूले भवनको शिलान्यास गरेकै शैलीमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले ‘रक गार्डेन’को शिलान्यास गरेका छन् । होलेसीगढी दरबार वरिपरिको ५६ रोपनी क्षेत्रफलमा बगैंचा बन्न लागेको छ । यसको लागत ५ करोड रुपियाँ भनिएको छ ।
त्रिधार्मिक स्थल हलेसीमा मेयरज्यूको पालादेखि आरती पूजा सुरु भयो । यो राम्रै कुरा हो । हामीले विरोध गरेका छैनौं । आरती गाउने ठाउँमा आरती गाउनुपर्छ । भजनमण्डलीमा भजन गाउनुपर्छ । किराती रिसिया गाउने ठाउँमा किराती रिसियाबाटै अनुष्ठान गर्नुपर्ने हो । किरातीहरूको घरको जगपूजा (शिलान्यास) गर्ने आफ्नै सांस्कृतिक परम्परा छ । तर यो ढुंगे बगैँचा अर्थात किराती मिथकसँग जोडिएको ठाउँमा हिन्दुपरम्पारा अलिक सुहाएन । यसरी हिन्दुकरण गर्नु भएन ।
नामाकरणबारे असहमति
‘रक गार्डेन’ नामाकरणमा मेरो गहिरो असहमति छ । ‘रक गार्डेन’ अंग्रेजी अनुवाद नाम हो । मौलिक नाम होइन । यो नामले पर्यटकहरूलाई तान्न सकिन्न । संसारका पर्यटकहरूले ‘रक गार्डेन’ थुप्रै ठाउँमा हेरिसकेका छन् । ‘रक गार्डेन’ भन्नासाथ ढुङ्गाको बगैंचा हो भनेर उनीहरूले कल्पना गरिहाल्छन् । यस्तो हेरिएकै छ भनेर पर्यटकहरूको लागि प्राथमिकताको ठाउँ पर्दैन ।
यसको मौलिक नाम के होला ?
किराती मिथकसँग यो ढुंगैढुंगाको फूल जोडिएकोले यसको आफ्नै मौलिक नाम छ । बुढापाकाहरूले यसलाई ‘बुङालुङ’ भन्छन् । चाम्लिङ भाषामा ‘बुङा’ भनेको फूल र ‘लुङ’ भनेको बगैँचा अर्थात फूलको बगैँचा ।
यहाँको ढुंगा आफैमा फूल हो । फूलजस्तै रमाइलो देखिन्छ ।
दुई किराती मिथक
१. तोयामा, खियामा र रैछाकुलेबारे लामो कथा छ । छोटोमाः साफोप्तेले खियामालाई खाइदिए । तोयामाले आफ्नी बहिनी खियामा कहाँ छे भनेर सोधीखोजी गर्न थालिन् । साफोप्ते आजित भए । तुवाचुङबाट पश्चिमतिर देखाउँदै साफोप्तेले भने, ‘ऊ पर हेर ।’ तोयामाले पश्चिमतिर अर्थात अहिलेको हलेसीगढीतिर हेर्दा खियामाको सेतैसेतो हाडखोर देखिन् । बहिनीको हाडखोरलाई साह्रै माया गरिन् । त्यतिबेला तोयामा बोझे ढाँडहुँदै भुम्जूडाँडासम्म पुगेको कथा छ । त्यसैको प्रतीकको रूपमा यो ढुंगे बगैँचालाई लिइन्छ ।
२. धामीहरूले रिसिया गाउँदा लुङटोरी फूलको नाम आउँछ । चाम्लिङ राई भाषामा लुङटो भनेको ढुङगा र बुङ भनेको फूल अर्थात ढुंगे बगैँचा । किरातीहरू जहाँ, जुन ठाउँ पुगून् । उनीहरूले आफ्नो सांस्कृतिक अनुष्ठानहरूमा लुङटोरीबुङ आउँछ । हलेसीभन्दा धेरै परको भूगोलमा पुगेका किरातीहरूले लुङटोरी बुङको कल्पना गर्छन् । र त्यो तुवाचुङको आसपासमा पाइन्छ भन्छन् । त्यो भनेको यही ढुंगे बगैँचा हो ।
जुन ठाउँमा मेयरज्यूले टोपी फुकालेर अविरबाटी गर्नुभएको छ । त्यो ठाउँमा किरातीहरूको ज्ञानको केन्द्रको रूपमा विकास गर्नुपर्छ । त्यो ठाउँमा के बनाउने ? हामीले बारम्बार भन्दै आएकै कुरा हो । हामीले मिलेर काम गर्नु नै छ ।
यहाँ विश्वका पर्यटकहरू दैनिक लामबद्ध लागून् । यस्तो थलोको रूपमा विकास गर्न मेयरज्यूलाई आग्रह गर्दछु । मलाई आशा छ । शिलान्यास जेजस्तो भए पनि यसमा सुधार हुनेछ । हामी स्थानीय सरोकारवाला र सांस्कृतिक अभियन्ता दुबै भएको नाताले । हाम्रा स्थानीय सरकार प्रमुखज्यूले गर्नुभएको यो काम हामीले सुनाउनुपर्ने नै हुन्छ ।
किरात राई यायोक्खाले तुवाचुङमा तोयामा, खियामा र रैछाकुलेको प्रतिमा अनावरण गर्दा यहाँका मेयरसापको चर्तिकला संसारका राईहरूलाई थाहै छ । राईहरूको पनि यति ठूलो साझा संस्था यायोक्खा छ रहेछ भनेर त्यतिबेला मात्र उहाँले थाहा पाउनुभयो जति बेला राईहरूले छपक्कै तुवाचुङ ढाकेर प्रतिमा अनावरण गरे ।
तर नानीदेखिको बाँनी नजाने रहेछ । किराती मिथक अर्थात ढुंगे बगैँचालाई फेरि हिन्दुकरण गरिहाल्नुभयो । nayaonline.com
फोटोः फेसबुकहरू