मानसिकता : रीता बलामी

रीता बलामी

लघुकथा : मानसिकता
रीता बलामी

राजुकी आमाको गोडा भाँचेको एक हप्ता भो । बिहानको पकाउने काम उनकै बुबाले गर्नु परेको छ । लकडाउन भए पनि अरु बेला त बिहान खाएर निस्क्यो, तास खेल्यो अनि एकै पटक राती ११ बजेतिर लर्खराउँदै आयो । कहिले बिनसित्ति आमासँग झगडा ग˗यो, कहिले राजुलाई गाली ग˗यो । आमाको गोडा भाँचेदेखि घरको काम गर्नु परेर रिसले आगो भैरहन्छन् ।

अचेल टोलमा कोरोना पोजेटिभ देखियो भनेर कोही निस्क्यो कि पुलिसले समातिहाल्छ र मात्र नत्र त तास खेल्न टाप । बिचरी आमाले रहरले गोडा भाँच्या हो र ! फेरि स्कुलले पनि सात बजेदेखि ११ बजेसम्म अनलाइन क्लास राख्देर । नलिन पनि स्कुलले हाम्रै लागि ग˗या हो , एसइइ दिने विद्यार्थी । तर अचेल बाउले बिहानको एक छाक भात पकाउनु पर्दा सधैँ महाभारत निकालेको देखेर राजुलाई दिक्क लागिसक्यो ।

बिहानै घर लिपपोत, गाईबाख्रालाई घाँस, कुँडो, थला परेकी हजुरआमाको स्याहारसुार, बाउछोराको लागि बिहान समयमै खाना, खाजाको व्यवस्था, सरसफाइ, खेतीपातीको काम, न्वाइध्वाइ, मेलापात र फेरि साँझको चुलोचौको । बिचरी आमाले कहिल्यै एक छिन आराम गर्न पाउँथिन् र ! उल्टै राती आएर बाउले “दिनभरि घर बसेर के गर्छस् हँ ?” भनेर कराइरहने ।

स्कुलमा मिसले ग्रामीण नारीहरूको अवस्थाबारे भन्दा मन छोयो राजुको । त्यसबेलादेखि सघाउँथ्यो आमालाई ।

बाउको फोन आयो । राजुले उठायो । उताबाट कसले के के सोध्यो कुन्नि मोबाइलको घन्टी सुनेर दौडेर आएका बाउले राजुको कुरो सुने, “बुबा ? अचेल केही गर्नुहुन्न । घरमै बस्नुहुन्छ । आमा ? आमाको त गोडा भाँचेको एक हप्ता भो ।”

कुन बेला फोन राख्ला र झम्टुँला भनेर ढोकानेर कुरेर बसेका बाउ फलाकिहाले ,“तेरा बाउले केही नगरी बस्या भए सधैँ पकार कस्ले घिचाको छ ए बज्या तिमरुलाई ? बडा केही गर्दैन भनेर गफ लाउँछस् ? को हो त्यो ? सधैँ यत्रो काम ग˗या देखिनस् ?”

राजुको आशय त त्यस्तो थिएन । तर मौका यही हो भनेर जवाफ दिइहाल्यो, “जाबो बिहान एक छाक पकाउनु पर्दा यत्रो रँडाको ? आमालाई त सधैँ सुतेर खाकोजस्तो झम्टिरनुहुन्थ्यो त ! अब थाहा पाउनुभो बा कति गारो हुँदो रेछ ? आमाको जिउ त फलामको हैन होला नि ?”

फर्पिङ