बिहान स्कुलबाट फोन आएदेखि नीतालाई निकै छटपटी भएको छ ।
प्रिन्सिपल सरले फोन गरेर ” म्याम अब हामीले आइतवारबाट अनलाइन कलास चलाउन पर्यो , हजुरले मोबाइलमा जुम एप डाउनलाेड गर्नु , अब स्कुल खोल्ने सम्भावना छदैछैन , घरै बसेर पढाउन पर्ने भो , के कसरी गर्ने हामी भन्छौ ,” भन्नुभयो ।
नीताले सरको कुरा सुनी “हस “भनेर सहमती जनाए झै गरी र फोन राखी तर अनलाइन क्लाससँग जोडिएर आउने नेट,कम्प्युटर,स्मार्ट फाेन इत्यादि कुराहरुको जोहो गर्न ऊ जस्तो थोरै तलबमा प्राइभेट स्कुलमा पढाउने शिक्षिकालाई निकै गाह्रो थियो , यि सब कुराहरु कस्ले बुझ्ने ? कस्ले सुन्ने ?
जेनतन चैत्रसम्मको तलब दिएको थियो स्कुलले त्यो पनि उहिले । यती लामो लकडाउनमा न पेटले लकडाउन गर्यो न राेगले । के कसो पर्ला भनेर अलि अलि जोगाएर राखेको पैसो पनि सकिन लागि सक्यो , अब स्कुलको अनलाइन क्लासका लागि कसरी तयारी गर्नु ? नाइ सक्दिन भनोस भने “हस् त नमस्कार ” भनिदिन्छन ।हुन्छ भनोस भने भर्खरै कम्तिमा पनि १०/१२ हजारको सबै चल्ने फोन चाहियो , नेट जोडन पर्यो सस्तो पनि १० हजार जती त लाग्छ नै , त्यस माथि केटाकेटीहरुकाे पनि क्लास हुन्छ उनिहरुलाइ पनि अर्को फोन , उफ! कसरी जुटाउनु ३०/३२ हजार ?
यि सब कुरा सोच्दासोच्दै नीता बौलाउनै आँटेकी छे । सासूससुराले हिजै हाे प्रेसर सुगर अरु के ..के… को हो औषधी सकियो ल्याइदे भनेको , उता श्रीमानकाे पनि अहिले आउने बाटाे बन्द भाछ सबै कामकारोबार ठप्प छ ,उनी त्यसै पनि तनाबमा छन ।
के गर्ने , कसो गर्ने अलमल परेर उसले सासूससुराकाे चाैरासी गर्ने धोको पुरा गर्न भनेर खाइनखाइ जम्मा गरि राखेको खुत्रुक्के गएर नजर टक्क अडिए।
भैरहवा ८ रुपन्देही
२०७७-२-२९ गते