सिमानामा भारतीय दादागिरी , हतियार खोस्ने भारतीय नियन्त्रणमा, एकको मृत्यु

everest kitchen


सर्लाही । सर्लाहीको नारायणपुर नाकामा भारतीयहरु जबर्जस्ती नेपाल पस्न खोज्दा शुक्रबार नाकामा झडप भएको थियो । झडपको क्रममा भारतीयले नेपाली सुरक्षाकर्मी हतियार खोसेर भाग्न लागेपछि सशस्त्र प्रहरीले गाेली चलाउदा एक भारतीयको मृत्यु र तीन जना भारतीय घाइते भएका छन ।

गोली लागि भारत, विहारको सीतामढी जिल्ला पिपरा पञ्चायत जानकीनगरका विकेश कुमारको मृत्यु भएको छ । छातीमा गोली लागेका उनको उपचारका क्रममा मृत्युु भएको भारतीय अधिकारीले जनाएको छ । त्यस्तै भारतीय नागरिक उमेश रामको हात तथा उदय ठाकुरको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ ।

ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई हातपात गरेर हतियार समेत खोसेर भाग्न थालेपछि गोली चलाउनुपरेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए । भारतीय नागरिकसँग झडप हुँदा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाली सुरक्षाकर्मी हतियार खोस्ने एकजना भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुरको दशगजा छेउमा सशस्त्र प्रहरी हवल्दार सञ्जय रायसहित ७ जना पहरा दिइरहेका थिए ।

शुक्रबार बिहान ९ बजे भारततिरबाट आएका केही व्यक्ति नेपाल पस्न खोजे । प्रहरीले लकडाउनका कारण आउजाउ गर्न नमिल्ने बताएपछि उनीहरू वादविवादमा उत्रिएको र ७ जना मात्रै सुरक्षाकर्मीलाई करिब ७० जनाले आक्रमण गर्दै नेपाल तीर पेल्न थालेपछि नजिकैको खेतमा काम गरिरहेका दिलीप साहले प्रहरीलाई भारतीयले कुटेको देखेपछि गाउँलेलाई बोलाएको बताए ।

शाहले बोलाएपछि करिब ६० जना गाउँलेहरु पनि नेपाली सुरक्षाकर्मीलाई लाठी लियर सहयोग गर्न नाकामा पुगेका थिए । त्यसपछि भने भारतीय रोकिएको उनले बताए । त्यसअघिनै सुरक्षाकर्मी हवाई फायर गर्दै पछाडि सरिरहेका बेला एक भारतीयले प्रहरी जवान भूपेन्द्र पौडेलको हतियार भारतीय नवलकिशोर रायले खोसेर भाग्न थालेपछि प्रहरीले थप फायर गरेको र त्यतिबेलासम्म गाउँलेहरु पनि पुगिसकेको थिए भने प्रहरी जवान पौडेलले नवलकिशोर रायलाई आफ्नो हतियारसहित समातेको साहले बताए । शाहका अनुसार भारतीयले यसरी संधै दादागिरी गर्ने गरेको बताए ।

हतियार खोस्ने राय अहिले नेपाली प्रशासनकाे नियन्त्रणमा रहेका छन भने उनलाई कानुनी कारबाही गरिने बताएको छ ।