जीवनसाथी : रामचन्द्र भट्टराई

रामचन्द्र भट्टराई

लघुकथा: जीवनसाथी
रामचन्द्र भट्टराई

– यात्रा लामो दुरिको थियो । बसभित्र यात्रीहरु खचाखच भरिएका भएपनि आफुलाई एक्लो महशुस भइरहेको महशुस गरिरहेको थिए । त्यहाँ परिचित कोही थिएनन् । सबै अनुहार नौला थिए, आ-आफ्नै धुनमा मस्त थिए । एक स्टेसन आयो । बस रोकियो । केही यात्री ओर्लिए केही उक्लिए । उक्लिएकी मध्ये
एक अपरिचित युवतीले सोधिन् -यो सिटमा तपाईं एक्लै? मैले टाउको हल्लाएर स्वीकारोक्ति दिएँ । उनले बस्ने अनुमती मागिन् । खाली सिट भएको हुनाले मैले बस्नुहोस् भनेँ । यात्रा अगाडि बढ्यो । उनले मेरो नाम सोधिन्,काम सोधिन्,ठाउँ सोधिन्…..यस्तै यस्तै धेरै कुरा सोध्दै गइन्। म क्रमश जवाफ दिँदै गएँ । उनी संगका यी मिठा भलाकुसारीले म मा एक्लोपनको आफ्नो भाषा  बिस्तारै हट्दै गयो । आत्मीयता झन् झन् बढ्दै गयो । म प्रतिका यति धेरै जिज्ञासा,सुन्दर रुप,कल्कलाउँदो जवानीले मनमा छुट्टै तरंग पैदा गरायो । यति छोटो समयमै म उनी प्रति यति धेरै आकर्षित हुन पुगेछु। कता कता कल्पनमा हराउँदै उनलाई जीवनसाथीक‍ो रुपमा सजाउन पुगेछु ।
यात्रा चलिरहेकै थियो ।अर्को एक स्टेसन आयो। बस रोकियो । पुन :केही व्यक्तिहरु बसबाट ओर्ले । बसका केही सिटहरु खाली भए । पछाडिबाट एकजना पुरुष आएर भने “सर तपाईं उता बसिदिनुहोस् न है। म अकमक्क पर्दै थिएँ उनले मतीर हेर्दै अनुरोध गर्दै भनिन् – अब गन्तव्य आउन केही समय मात्र बाँकी छ। केही समयको लागि हामी दम्पतीलाई सँगै बस्न दिनुहोस् न है सर पिलिज… “