स्वाद : सुमन दाहाल

              सुमन दाहाल

लघुकथा- स्वाद

– सुमन दाहाल

– आज घ्यू खारेको होईन नन्दा ? आज एक डाडु घ्यू तातो भातमा हालेर समसमी मुछेर खान मन लागेको छ बुझ्यौ। पहाडमा छँदा आमाले दिएको घ्यू भात मुछेर खाँदा कुहीनाबाट घ्यू चुहिन्थ्यो ,चन्द्रमणिले बिगत संझिए।
– लौ हेर त के बोल्नु भाको यस्तो ! डाक्टरले चिल्लो त सुँघ्न पनि नदिनु भनेको छ। कोलेस्टोर, बलड पेसर, लिभरमा बोसो जमेको भनेको बिर्सनु भयो ?
– संझेकै छु हो, बिर्सने रोग लागेको छ र अहिले नै। अनि साँच्चै , हिजो छोरीले ल्याएको जेरी बाँकी छ कि छैन ?
– कसले खान्छ र सक्किनु ! छोरा बुहारी दुब्लाउने अरे छुँदै छुँदैनन्। घाँसपात मात्र खान्छन्। नाती केटालाई लौ खाईदे न बाबु भन्यो चाऊचाऊ चाहियो भन्छ। मैले खाएर २ किलो जेरी कहिले सक्किनु! मैले त दिएँ पल्लाघरकी माईलीलाई। ४, ५ जना छोराछोरीले हैरान पारे भन्थी। ढुंगामाटोले पनि पुग्दैन भन्थी बिचरी ! अँ कपाकप खान सोधेको होला। अस्ति तपाईंको सुगरको रिपोटमा ४०० कट्यो भन्थ्यो छोराले। मलाई गाली गरेर हैरानै पार्यो। जे माग्यो त्यै दिएको छ भन्थ्यो।

– होईन, होईन मैले खान मागेको हो र ? यत्ति पनि बुझ्दिनौ लाटी ? यसो हल्का मुखको स्वाद पो फेरेको त।