महानदाता : डा पुस्करराज भट्ट

डा पुस्करराज भट्ट

लघुकथा- महानदाता

डा. पुस्करराज भट्ट

“म त्यति सम्पन्न मानिस त होइन, तर दुई परिवारलाई एक हप्ताका लागि राहतस्वरुप रासन दिनसक्छु ।” सामाजिक सञ्जालमा यो सुचनासँगै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि दिइएको थियो ।
सामाजिक सञ्जालमा सूचना दिने व्यक्ति परिचित थियो । महामारीका बेला बन्द कोठामा निस्सासिएको मलाई यो खबरले उत्साही तुल्यायो । कोठामा भएको रासन सकिन लागेको थियो । काम गरेको ठाउँबाट केही पनि पाइएको थिएन ।
सूचनामा दिइएको नम्बरमा फोन गरेँ । धेरै पछि मात्र फोन उठ्यो ।
”को हो फोन गर्ने ? यस्तो महामारीका बेला फोन आयो कि मलाई त रिस मात्र उठ्छ ।” उसले चिच्याउँदै भन्यो ।
”म सुवास खनाल, तपाईँ हामी पहिले सँगै पढेको हौं । फेसबुकको स्टाटस देखेर फोन गरेको ।” मैले डराएर भनेँ ।
“ए, म त को भनेर ? यतिबेला त्यसै त डर छ, कतिबेला के हुने हो ? म त नयाँ नम्बर देखेर तर्सेको । अनि के छ त नयाँ खबर ?” उसले चिप्लो लगायो ।
“ठिकै छ,मानिस नचिन्दा त्यस्तै हो । नयाँ खबर के भन्नु ? कोरोनाले कोठाबाहिर जान पाएको छैन । केही समस्या परेर…..।” म संयमित बनेेँ ।
“फेसबुकमा राहतका अनेक घोषणा आएपछि मैले पनि स्टाटस राखेको हुँ । ख्यालख्यालमा गरेको कुरा साँचोे पो भएछ । हेर न, केही दिन अघिसम्म त राम्रै थियो, अहिले त म पनि संकटमा छु । जे भएपनि सुरक्षित रहनु, कोठामा बस्नु ।” यति भनेर मोबाइल फोन बन्द भयो । मैले पटकपटक प्रयास गरेँ, परिणाम स्विच अफ ।
अब मेरो दिमागमा बारम्बार यही शब्द गुञ्जिरहेछ “सुरक्षित रहनु, कोठामा बस्नु ।”