माटोको माया : नानि भारद्वाज

नानि भारद्वाज

लघुकथा : माटोको माया

– नानि भारद्वाज

धेरै वर्ष भयो दिदीकोमा नगा’को ! यसपाला तिहारमा त जान्छु दिदीको घरमा ! भन्ने मनमा अायो। भिनाजुका पिता नै उहिल्यै बृटिश लाहुरे भई भारतका विभिन्न राज्यमा सरुवा हुँदै दोश्रो विश्वयुद्धको अन्त्यमा बर्मामा गई बसोबास गरेका थिए

काग तिहार मै नेपालबाट निस्केको म सोद्धै खोज्दै हली तिहारका दिन दिदीघर पुगें। लामो समय पछि भेटघाट हुँदा हामी दिदी भाइ दुवैका अाँखा रसाए। भाञ्जा भाञ्जीहरु पनि खुबै रमाए। तिहार निकै रमाइलो भयो । नेपालमा हराउँदै गएको लोक भाकाको देउसी,भैल‍ो, सेल,अनर्सा साथै सांस्कृतिक परम्परा समेत त्यहाँ यथावत देख्दा मेरो गह पनि अोसिलो भई अायो। पेगोडा शैलीका मन्दिर अनि नेपालकै जस्ता देखिने काठका घरहरुले त झनै ठूलो विभोर पारे ! दिदीका ससुराले पनि नेपालका पहाडका कुना कन्दरा र मधेसका फाँट सबैका विषयमा सोधे। मैले जाने जति विस्तार लगाएँ ! मेरा बयान सुनेर उनी कतिपय ठाउँमा उनका जीवनमा अाइ परेका दुःखका क्षण सम्झदै सुँकसुँक गर्दै भने “बाबू नेपाल त छोड्ने मन थिएन तर त्यहाँका मुखिया र साहु महाजनहरुले उठीबास लाए ! बाध्य भई अाफ्नो मातृभूमि छोडेर यहाँ पस्रिनु प-यो”
“अनि बा फर्कौं न त अब !” मैले भनें ।
“फर्कन मन त थियो तर ब्यवहारले र उमेरले पनि गाह्राे हुने भो बाबू ! “उनले भने।
दिदीको घरको पन्द्र दिनको बसाईमा त्यहाँका गाउँले अामाबुवा दाजुभाइ दिदी बहिनीहरुसंग रम्मिदा दिन बितेको पत्तै भएन। त्यहाँको न्यानो वात्साल्यले मलाई पनि मोहनी लगायो।मानौं मैले त्यहाँ पनि एउटा तर शान्त र शालिन नेपाल देखें।तर पनि अाफ्नो देश फर्कनु नै पर्ने हुनाले मैले तयारी अघिल्लै दिन गरें। फर्कने दिन बिहानै अब कसरी बिदा हुने भन्ने कुराले पिरोलिएको थिएँ। तैपनि सबै संग बिदा माग्दै म दिदीको घरबाट निस्किएँ।

म करीब सय मिटर जति अाइपुग्दा दिदीका ससुराबाले “बाबू…!” भनेर बोलाए । म त्यहीं रोक्किएँ। बूढा मान्छे लौरो टेक्दै अाइपुगे। “बाबू सबैका अगाडि भन्न नसकेर यहाँ अाइपुगें, नरिसाउनु ल !”
“के कुरो बा ?” मैले सोधें।

“तिमी अर्को चोटी अाउँदा मलाई मेरो देशको एक मुठ्ठी माटो ल्याइदिनू ल ! म मर्ने बेलामा त्यही माटो छातिमा राखेर मर्ने मन छ ।”

( ललितपुर,)