भरिया : जनक सिक्देल

जनक सिक्देल

लघुकथा :  भरिया

जनक सिक्देल

” भनेको सुन्नु भएन् ? जानूस् न एउटा भारी बोक्ने भरिया खोज्नूस् । भारी बोक्ने मान्छे नै भएन् । ” श्रीमती च्याँठ्ठिइन् ।
मेरो पालो – ” हर्केलाई भारी बोकेर पल्लो घरमा पुर्याऊ भनेर अादेश दिएँ । ”
ऊ पनि अरूको भारी बोक्न छोडेर खुशी हुँदै अायो । अनि धमाधम् भारी बोकेर पुर्याउँन थाल्यो । जोश र जाँगरकोसाथ तनमा फुर्तिफार्ति देखाउँन थाल्यो । एकैक्षणमा उसले भारी बोकेर सिध्यायो । अनि मैले भने – ” भरिया भाइ ! कति रूपियाँ भो ? ”
” दाइ ! पाँच सय । ” उसले जवाफ दियो ।
मैले पनि खुरूक्क झिकेर ….. । तत्पश्चात् ऊ घरतिर लाग्यो ।
” बाबा हर्के काकालाई किन भरिया भन्नुभएको ? नाउँ …… । ” दश – एघार वर्षे छोरीले जिज्ञासा राखिन् ।
मैले – ” छोरी ! भारी बोक्ने मान्छेलाई भरिया भन्छन् । अनि भरिया भनेको भन्दै प्रतिकृया दिएँ । ” तत्पश्चात गाडी हाँकेर कार्यालयतर्फ लागेँ । खाता – पत्रहरू मिलाउँन लकडाउँन् भएदेखिकै बाँकी थियो । अनि बसेर मिलाउँन थालेँ । मिलाउँदामिलाउँदै समय वितेको थाहै भएन । घडी हेर्दा त वेलुकाको पाँच पो ….. । तत्पश्चात कार्यालय बन्द गरेर घर अाएँ ।
” ड्राइवर दाइ ! गाडी त्यता होइन । यता राख्नू ….. । ” छोरीले भनिन् ।
म त छोरीकी यस्तो कुरा सुनेर झसङ्ग भएँ । अनि सोधेँ – ” छोरी ! बाबालाई किन यसो भनेकी ? ”
” अँ …. । हजुरले नै भन्नुभएको होइन ? भारी बोक्नेलाई भरिया भन्नुपर्छ भनेर । अनि मैले पनि गाडी हाँक्नेलाई ड्राइवर दाइ भनेकी । ” छोरी चाहिँले भनिन् ।
” ल …. ल …. । अवदेखि भरिया भन्दिन् । मान् , सम्मान् र ईज्जत् गर्छु । अरूलाई पनि सिकाउँछु ।” मैले भनेँ । अनि कोठाभित्र पसेँ ।

विराटनगर – ५
मोरङ्ग