बहुविवाह : रमेश सुबेदी

रमेश सुबेदी

लघुकथा : बहुविवाह

रमेश सुबेदी

एकपटक सँगै काम गर्ने मोहन, हिमाल, रजनी, मेलिना र अरु पाँच जना एउटा सेनिमा हेर्न जाँदा बाटोमा राजेश भेटिएको थियो । साथीहरु एक्कासी भेट्दा आफू संग सँगै हिँडेको आमा र भाउजु भनेर चिनाएको थियो । हेर्दा राजेश भर्खरको हेन्डसम देखिन्थ्यो । उसको बोल्ने शैली र मुस्कानमा प्राय केटीहरु मरिहत्ते गर्थे । मिजासिलो र मिलनसार व्यक्तित्वले अफिसमा सबै खुसी थिए ।

हिन्दू महिलाले विशेष मनाउने तीजको महिना सुरु भएपछि महिला कर्मचारीहरुलाई दर खुवाउने बहानामा शुक्रवारको अफिस बिदा भइसकेपछि सबै मिलेर दर खाने कार्यक्रम बनाए । त्यसैबेला देखि राजेश र मेलिना दुवै नयाँ भएकोले अलि नजिक हुन पुगे । उनीहरू बीच कुरा कानी बाक्लै हुँदै गयो । करिव ६/८ महिनाको सामिप्यताले उनीहरू एक अर्का बिना एकछिन पनि बस्न नसक्ने भए । दुवैको सरसल्लाहमा अफिसका साथीहरु लाई निम्तो गरेर राम्रै सँग बिहे गरे ।

एकदिन अफिसका सबै कर्मचारी खाजा खाँदै थिए एक्कासि चार पाँच जना मान्छेहरू आए, ती मद्धे एउटी महिलाले राजेशलाई भुत्लाउँदै पिटेर लछार पछार पार्न लागी । सबै साथीहरु हेरेको हेरै भए, छुट्याउन प्रयास नगरेका होइनन् । तर ती महिला सँगै आएका मान्छेहरूले राजेशलाई लिएर गए । नजिकैको पुलिस कार्यालयमा बुझाउदै बहुबिबाह गरेको उजुर दिए ।

अफिसमा खैला बेला भयो । सबैले राम्रो र भलाद्मी भनेर मूल्यांकन गरेको मान्छे त फटाहा निस्क्यो । घरमा विहेगरेको श्रीमती हुँदाहुँदै फेरि मेलिनालाई झुक्याएर धुमधामसँग बिहे गर्यो भनेर सबै रिसाए । अफिसियल कार्वाही गर्नु पर्छ भन्ने चर्को दबाब थेग्न नसकेपछि जागिर बाट निकालियो ।

राजेश आफ्नो हर हिसाब बुझ्न जाँदा भन्यो, मैले कसैलाई झुक्याएको थिइन् । बाटोमा भेटेको बेला मेरो आमा र श्रीमती चिनाएकै थिए ।

त्यहीबेला पछाडिबाट मेलिनाले भनी अनि आमा र भाउजु भने पछि कसले तिम्रो श्रीमती भनेर थाहा पाए त ? भाउजु भनेपछि तिम्रो दाइको बुढी होला भन्ठान्ने होइन र भन्दै चुप भई, सबै मुखा मुख गरिरहे ……।

ललितपुर – १३, कुसुन्ती ।