हत्या, अपहरण, बम बिष्फोटन लगायतमा संलग्न फरार राजेश कुमार हतियारसहित पक्राउ

everest kitchen

बाँके । हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिष्फोटन तथा फिरौति रकम माग गर्ने जस्ता अपराधिक कार्यमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका-३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेश कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहनुका साथै जिल्ला अदालत बाँकेबाट विभिन्न मितिमा कैद तथा जरिवाना भई फरार रहेका उनको खोजी गर्ने क्रममा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले डुडुवा गाउँपालिका-५ स्थितबाट तरवार १ थान र चक्कु १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिवादी यादवलाई जिल्ला अदालत बाँकेको अपहरण मुद्दामा २०७१ फागुन १७ गतेको फैसलाले ४ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना, प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम बिष्फोट मुद्दामा २०७२ माघ १८ गतेको फैसलाले ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना, भुमिसुधार कार्यालय बाँकेमा बम बिष्फोट मुद्दामा २०७२ माघ १८ गतेको फैसलाले ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना, मालपोत कार्यालयमा बम बिष्फोट मुद्दामा २०७२ माघ १८ गतेको फैसलाले ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना भएको थियो भने कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण गरी हत्या, अपहरण गर्ने धम्की तथा हातहतियार खरखजना मुद्दामा समेत यादव संलग्न रही फरार रहेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।