म्युजिक भिडियोमा जम्दै निवा खुजुम

everest kitchen

सुन्दर अनुहार , अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम ‘बिमला’ ।

पछिल्लो समयमा म्युजिक भिडियोहरूमा छाउँदै आएकी निवाले लकडाउनकै समयमा एउटा म्युजिक भिडियोमा काम गरिन् । जुन १५ मा सार्वजनिक भएको मोहन मगर र दीपा लामाको स्वर रहेको ‘यो मुटुमा तिम्रै नाम…’ बोलको थियो । भिडियोले निवालाई सफल कलाकारको रुपमा चिनाउन सफल भएको छ ।

निवाका धेरै म्युजिक भिडियो छन् । यादन सेर्माको पाःलाम, अर्जुनकुमार मुसुहाङको ‘चौतारीमा कुर्दाकुर्दै…’, आयुषा थलङको ‘म चञ्चल छु…’, सुशान्त खजुमको ‘जिन्दगीमा हरेक प्रहर…’, एलिस राई र पवन खतिवडाको ‘पब्जी सङ…’, कुमार पौडेलको ‘लुकी लुकी…’ लगायत अन्य धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । त्यसैगरी सर्टमूभि ‘फस्ट डेट’मा पनि उनको अभिनय रहेको छ । केही ¥याम्पमा पनि हिडेको अनुभव छ उनीसँग ।

दुईदशक अघि धनकुटा जिल्लाको साविक बसन्तटार ८, हालको चौबिसे गाउँपालिकामा बुबा रामप्रसाद खजुम र आमा किम्माया खजुमबाट उनको जन्म भएको हो । दुई भाई र दुईबहिनी परिवारमा छन् । निवाको बाल्यकाल गाउँमै बितेको हो भने बसन्तटारको सोक्रोपा प्रा.वि.बाट प्रारम्भिक शिक्षा र सिंहदेवी मावि चौकी भञ्ज्याङबाट माध्यमिक स्तरको शिक्षा पूरा गरेकी हुन् ।

उनी भन्छिन् –‘म जब ९ वर्षको हुँदादेखि गाउँको क्लवमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ । देउसीभैलोमा सहभागी भएँ । त्यसबेलादेखि नै मलाई कलाकारितातर्फ मोह बढेको हो । हाम्रो क्लवका नेतृत्वकर्ता पूर्णचन्द्र जबेगु र जनरानी चेम्जोङ नै मलाई डोर्‍याउने प्रेरणाका श्रोत हुन् ।’

उनको आकर्षक नृत्यको कारण वल्लो तथा पल्लो गाउँमा हुने नृत्य प्रतियोगितामार्फत धेरै पुरस्कार र प्रमाणपत्रहरू प्राप्त गरेकी छिन् ।

एसएलसीपश्चात वि.सं. २०७२ मा धरानको गरिमा डान्स सेन्टरमा नृत्यसम्बन्धि ज्ञान हासिल गरिन् । नृत्यकार अनुप थाङ्जालीले बिमलाको नृत्यमा दम भएकोले यसै क्षेत्रमा लाग्न प्रेरित गरे । त्यसको दुईवर्ष पछि उनी कलाकारितामा कर्म बनाउन काठमाडौं आएकी हुन् ।

काठमाडौं आएर निवा आस्था कलाकेन्द्र पुगिन् । आस्थाका लीला सुनुवारबाट नृत्यका विशेष शिक्षा लिएपछि उनलाई यस क्षेत्रमा आउन सजिलो भयो ।

उनलाई यसक्षेत्रमा जमिहाल्न त्यति सजिलो भने थिएन । यस क्षेत्रमा जमिरहेका साइनोमा फूपु पर्ने श्रेयसी चेम्जोङ, जनरानी चेम्जोङ र मामा साइनो पर्ने भानेन्द्र सम्बाहाम्फेको साथ छ ।

भविष्यमा चलचित्रमा आउने लक्ष्य रहेको निवा खजुमले यसका आवश्यक तयारी पनि गरिरहेकी छिन् । नयाअन्लाइन nayaonline बाट