लघुकथा: आत्महत्या
-अमर त्यागी
जीवनमा मैले अनेक असफलता भोगेँ।अनेक प्रताडना भोगेँ।अनेक घृणाउ भोगेँ।अनेक अवहेलना भोगेँ।अनेक बेवास्ता भोगेँ। एक्लोपन भोगेँ।विरक्ति भोगेँ।अन्त्यमा भोगाइबाट यत्ति मर्माहत भएँ कि मलाई यसरी पलपल मरेर बाँच्नुभन्दा एकैचोटि मर्नुनै निको लाग्यो। अब मैले आत्महत्या गर्ने निर्णय गरेँ।
आत्महत्या गर्न विषको बोतल खोलेर पिउनै लाग्दा एक्कासि मैले आफ्ना अपूरा चाहनाहरू सम्झेँ। कर्महरू सम्झेँ। कर्तव्यहरू सम्झेँ। जिम्मेवारीहरू सम्झेँ। योजनाहरू सम्झेँ। एक्कासि आफूलाई नामर्द लाग्यो र आफैप्रति झनन्न रिस पनि उठ्यो।अब मैले आत्महत्या गर्ने निर्णय त्यागिदिएँ।
त्यसपछि मैले असफलता,प्रताडना, घृणा, अवहेलना, बेवास्ता,एक्लोपन र विरक्ति सबैलाई चटक्कै बिर्सिदिएँ। आफ्ना चाहना, कर्म, कर्तव्य, जिम्मेवारी र योजनाहरूमा एकाग्र भएर लागेँ, लागिरहेँ। विघ्नहरूसँग जुधेँ, जुधिरहेँ।अहिले सफलता, सद्भाव, प्रेम, हार्दिकता, अपनत्व सबै मेरो साथमा छन् र आत्महत्याले धोका पाएपछि आफैले आत्महत्या गरिसकेको छ।