फाँसी : कुमुदप्रसाद शर्मा

कुमुदप्रसाद शर्मा

लघुकथा: फाँसी

कुमुदप्रसाद शर्मा

दलवीर के गर्छन्, कसो गर्छन्, को कससँग सम्पर्क छ उनको – कसैलाई थाहा थिएन । सबैलाई थाहा छ, बाबुको पालामा त खान लाउन नै धौधौ थियो । ससुरालीले मद्दत गरे कि त ! भन्नलाई पनि ससुरा आफैं सुकुम्बासी हुन् रे । तर पनि सहरमा फ्ल्याट लिएर बसेका छन्, आफ्नै गाडि छ, सधैं सुट टाइ लगाएर हिँड्छन्, हातमा लाखभन्दा बढी नै पर्ने मोबाइल हुन्छ, तर उनको ल्याकतचाहिँ केवल एस एल सी हो ।

एकाएक करोडौंको भ्रष्टाचारमा उनको नाम पनि गाँसिएको खबर सार्वजनिक भयो । सामाजिक सञ्जालहरूमा लेनदेनको कुरा गर्दै गरेको भिडियो नै प्रशारण भयो । व्यापार व्यवसाय, उद्योगधन्दा, जागिर केही नभएको मानिसको यस किसिमको उच्च स्तरको जिवनशैली कसरी सम्भव छ ? भनेर सार्वजनिक रूपमा पनि प्रश्न उठ्न थाले

केही दिन यता दलवीरलाई स्थानीय एफएम, अनलाइन टिभी र पत्रपत्रिकाहरूले खूब पछ्याएका छन् । उसको बारेमा कतै न कतै समाचार नआएको दिन नै हुँदैन । मानिसहरूले अन्तरवार्ता दिँदा र भाषणमा पनि भ्रष्टाचारमा बिचौलियाको भूमिका निभाएको भनेर दलवीर कै नाम लिन्छन् ।

एकदिन श्रीमतीचाहिँले अनुहार मलिन बनाएर आँखाभरि आँसु गर्दै भनिन् – “जेसुकै भएपनि हजुरले- `यो आरोप प्रमाणित भएमा फाँसीमा चढ्न तयार छु´ चाहिँ भन्न नहुने क्या !”
उसले सान्त्वना दिँदै भन्यो-” त्यत्तिकै डराउँछेस्, त्यतिविघ्न लाटो छु र म ? ढुक्क भएर बस् न तँ ! हामीकहाँ फाँसी दिन पाउने कानून नै छैन र पो भनिदिएको त !”