डर : डिलाराम आचार्य “इच्छुक”

डिलाराम आचार्य “ईच्छुक”

लघुकथा-डर

डिलाराम आचार्य “इच्छुक ”

सुर्खेतको धुलियाबिट भेडाबारि खण्डको सडक निकै व्यस्त देखिन्थ्यो ।दैनिक दर्जनौ बस, जिप ,अटो ,मोटरसाइल ,सयौं ट्याक्टर लगायतका अनेकौं सवारी र मालबाहक गाडीहरु र त्यहि सडकमा दर्जनौं टिप्पर पनि चल्दथे ।सडक साझा थियोे जहाँ विभिन्न पेसा व्यवसाय गर्ने मान्छे पनि आउ जाउ गर्थे ।

सोही मध्येका एक जना बाजे जो गाउँबाट डोकोमा तरकारी र फलफूल खरिद गरि बजार बेच्न जान्थे ।
सडक कच्ची धुलाम्य भएको कारण त्यो सडकमा यात्रा गर्ने जो कोहीले पनि नाक मुख छोप्ने मास्क लागाउने गर्दथे र बाजे पनि डोको बोकेर हिड्दा मास्क साथमै बोकेर हिड्दथे ।अरु गाडि आउँदा अलि कम मात्रै धुलो उडाएपनि टिप्पर आउँदा भने आकाशै ढाक्ने गरि धुलो उड्ने भएकाले मास्क लगाउनै पर्दथ्यो ।जब कोरोनाको चर्चा चल्यो तब मास्कको प्रयोग गर्ने परिस्थिति बदलियो । टिप्परलाई धुलो उडाउने मात्रै नभई किचेर मार्ने समेतको रुपमा हेरिन्थ्यो ।टिप्पर आउँदा सडकै छाडेर किनारतिर लागेर मास्क लगाउने बाजे आजकल टिप्पर सँग डराउन छाडेका थिए ।।

बाजे त्यहि सडकमा हिँडिरहेका थिए। एउटा टिप्पर आयो तर उनले पहिला जस्तो न मास्क लगाए न त सडकै छाडेर गए ,मात्रै अलिकति छेउ लागे ।
तर जब त्यहि टिपर चालक अलि पल्तिर टिपर रोकेर बाजेको नजिकैबाट कतै जाँदै थियोे तब बाजेले झटपट खल्तिबाट मास्क निकालेर नाक मुख छोपिने गरि लगाए अनि सडकको अर्को छेउतिर लागेर तर्किए ।।

लेकबेसि १०-कर्णाली प्रदेश सुर्खेत