भक्तपुर । चाँगुनारायण नगरपालिका-४ छाप बस्ने ४५ वर्षीया पार्वती गुरुङको सुनको रीङ चोरी गरेर भागेका २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्नेहरु सिन्धुपाल्चोक बन्जेमाने-३ घर भएका ३१ वर्षीय बिशाल तामाङ र सिन्धुपाल्चोक चौतारा नगरपालिका-२ स्याउले घर भएका ४८ वर्षीय मंगल तामाङ रहेका छन् ।
शुक्रबार दिउँसो साढे १ बजे गुरूङ स्थानीय चिहानडाँडा जंगलमा घाँस काट्न गएको अवस्थामा उनीहरुले कानमा लगाएको सुनको रीङ तानी जंगल तिर भागेका थिए ।
गुरुङको सुन चोरी भएको खबर प्रहरीलाई खबर भएपछि महानगरीय प्रहरी प्रभाग साँखु, महानगरीय प्रहरी प्रभाग चाँगुनारायण र स्थानीयबासीको सहयोगमा खोजी गर्ने क्रममा काठमाडौं शंखरापुर नगरपालिका-६ सलम्बुटारमा सुनको रीङ २ थान र खुकुरी सहित फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरु उपर आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
गुरुङको सुन तान्दा कानको लोती समेत च्यात्तिएको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।