“लघुकथा: छिचरो”
जीवन दाहाल
इतिहासमा लिपुलेक खोज्दै थिएँ अकस्मात “मिष्टर ड्याहल के छ खबर ?”- भन्दै मेरो अमेरिकन साथी गेरी सेफर्ड आइपुग्यो । अरुबेला जस्तै चकित बनाउँदै ।
“पहिले बस न”-मैले मेच देखाएँ बस्नका लागि र थपें-“मेरो त ठिक छ बरु तिम्रो सुनाउ न ।”
“बेशै छ मेरो पनि”-उसले छोटो शब्दमा हाल बतायो र थप्यो-“यस पाला त म पनि ईन्डिया घुमेर आएको नि ।”
ए ! ए ! अनि ?
“साँच्ची तिम्रो विचारमा गलवान उपत्यका चाइनाको होला कि ईन्डियाको होला ?”-उसले बिना प्रसङ्ग र अप्रत्याशित रुपमा हाल चलिरहेको चीन र भारतको विवादमा प्रवेश गर्न खोज्यो शङ्कास्पद रुपमा ।
“चाइनाको ।”
मेरो उत्तर सुनेर उसको मुख केहीबेरसम्म खुलाको खुला रह्यो ठूलै झट्का लागे झैं गरेर अनि उसले आफूलाई तुरुन्तै होसमा ल्याएर भन्यो -“के आधारले ?”
“प्रमाणीक सन्धि सम्झौता हुँदाहुँदै पनि आफू खुसी बनाएको नक्सा देखाउँदै जुन छिचरो तर्कको आधारले हाम्रो लिपुलेक, लिम्पिया धुरा र कालापानी मेरो हो भनी ईन्डियाले दाबी गर्छ त्यै आधारले । हामीसँग छिचरो व्यबहार गर्नेले चाइना, पाकिस्तानसँग पनि त त्यसै गरेको होला भनेर अनुमान गर्न के गाह्रो छ र ! सिम्पल कुरो हो”-मैले उसको मुख बुझो लगाउने कोशिस गरें ।
गौरादह-७, झापा ।