महान् कविज्यू : ललिता ‘दोषी

ललिता ‘दोषी

लघुकथा : महान् कविज्यू

ललिता ‘दोषी’

पुस महिनाको बिहानी टम्म हुस्सु लागिरहेको थियो । कवि नारायण बानेश्वरको चोकमा बस पर्खिरहेका थिए । आगो ताप्दै चिया पिइरहेका युवाहरूले खुसीको स्वरमा भने, “ऊ महान् कविज्यू पाल्नुभयो । आज त दामी कविता जानेभयो । दामी … ।”

नारायणले सोचे, “सम्पूर्ण परिवारको गाँस काटेर कावितासङ्ग्रह निकालँे । पत्रिकामा आफूले चिनेका मान्छे नहुँदा त्यो गहकिलो पुस्तक नराम्रोसँग ओझेल प¥यो । त्यो बेलादेखि सित्तै कवि बनेछु भन्ने लागेको थियो । धन्न ! बेलैमा बुद्धि पु¥याएको रहेछु । हेर, राम्रा कविका त यत्रा प्रशंसकहरू हुँदारहेछन् नि ! तर खोइ

कवि ?”

ल–ल कविताको टुक्रा जाओस् कविज्यू भन्ने शब्दले नारायणको ध्यान त्यतै तान्यो । झुम्म दाह्री, कपाल पालेको, डुङडुङी गनाउने, अर्धनग्न अधबैँसेले तिघ्रा पिट्दै भने–

साले त्यो शिखर चढ्यो

मेरै साहित्य चोरेर

म सडकमा सुत्ने भएँ

थोत्रो बोरा ओढेर

युवाहरूले ताली पिट्दै भने, “वाह ! वाह ! ! कविज्यू, अर्को टुक्रा जाओस् अर्को … ।”

कविले छातीमा मुड्कीले हान्दै भने–

सधैँ खुट्टा मात्र ताने

अजम्मरी पाएझैँ गरी

आँसु बग्यो बगिरह्यो

पीडा बगेन कठैबरी !

ल कविज्यू, बधाई छ, भन्दै एउटा युवकले पिउँदापिउँदैको आधी गिलास जुठो चिया दियो ।

कविले दुई घुट्कोमै त्यो चिया पिएर ओझेल भए । नारायणलाई भन्न रिँगटा चल्यो । उनी थ्याच्च भुइँमा बसे । एउटा वृद्धले च्च ! च्च !! … गर्दै भने, “साहित्यको सही मूल्याङ्कन नहुँदा कठै ! यत्रो होनहार कवि बौलाहा भए ।”

कविको त्यो नग्न दृश्य र वृद्धका कुराले नारायणलाई सही नसक्नु छटपट भयो । उनी जुरुक्क उठेर युवाहरूले तापिरहेको आगो नजिकै गई कविताको ठूलो डायरी च्यातचुत पारेर आगोमा हाले । त्यो जल्दा उनलाई आफ्नै मुटु जलेझैँ भयो । कवि सम्मेलनमा हिँडेका उनी लर्खराउँदै घर फर्के । कानमा भने युवाहरूले भनेको आवाज आइरहेको थियो । हा… हा… हा… फेरि एउटा महान् कविज्यू बौलाउनुभयो । ठीकै छ, थोरै जुठो चियामा दामी कविता सुन्न पाइने भयो । दामी .…. ।

बुद्ध नगर बानेश्वर