आफ्नो मरदलाई : इन्दिरा प्रसाई

इन्दिरा प्रसाई

लघुकथा :आफ्नो मरदलाई

इन्दिरा प्रसाई

त्यस रात पनि उनी पिएर आएका थिए । सधैँझैँ हामीवीच घमासान वाकयुद्ध चल्यो । दुवै छोराहरू डराएर पढेजस्तो अभिनय गरिरहेका थिए । आफ्नो सबै घरधन्धा सकिसकेकी चन्द्रीमाई पनि हाम्रो झगडा भएको चालै नपाए जस्ती भएर भान्सा कोठैतिर सर्याकसुरुक गर्दै थिई ।

हाम्रो वाकयुद्ध अन्तिम चरणमा पुगेपछि उनले मेरा खुला केशराशीलाई आफ्नो सिकार बनाए र मैले पनि आत्मरक्षार्थ आफ्ना सिँगारिएका नङ्ग्रा प्रयोग गरेर उनलाई रगताम्मे तुल्याएँ । मेरा तालुका नसाहरू तन्केपछि र उनलाई नङका विषले पोलेपछि हाम्रो युद्ध त्यस रातका लागि सकिएको थियो ।

‘मलकिन, म अब घर जौँ ?’ त्यसैबेला चन्द्रीमाईले डराइडराई मसँग विदा मागेकी थिई । काम सकेर घर जाने उसको समय केही बितिसकेको पनि थियो । त्यसैले मैले टाउको हल्लाएर उसलाई बिदाको अनुमति दिएँ । ‘ए! चन्द्रीमाई, भोलि आउँदा चन्द्रीलाई पनि लिएर आइज है, मैले पद्मकन्या स्कूलकी प्रधान अध्यापिकासँग कुरा मिलाइसकेकी छु । भोलि नै नाम लेखाउनु पर्छ ।’ ढोकानेरै पुगिसकेकी चन्द्रीमाईलाई मैले सम्झेर झट्ट भनेकी थिएँ ।

भोलिपल्ट, सदाझैँ आफ्ना निश्चित समयमा चन्द्रीमाई आएकी थिई । ‘चन्द्री खोइ ? झन त्यतिमाथि छोरीलाई सँगै लिएर आइज भनेको होइन, अब आज नलगेदेखि भोलि त तँसँग म जान पनि भ्याउँदिन । नाम लेखाउने समय नाघे पनि उति माथि दुनियाँ साथीसङ्गी गुहारेर प्रधान अध्यापिकालाई राजी गराएकी थिएँ । तिमीहरूको काम गर्न यही अप्ठ्यारो छ, गरेन भने ‘मालिक्नीले यति पनि गर्दिन’ भनेर चित्त दुखाउँछौ गर्न खोज्दा तिमीहरू नै लत्तो छोड्दिन्छौ । ल भन् त अब तैँले के भनेर चन्द्रीलाई नल्याएकी ? कि तँलाई पढाउनै मन थिएन भनौँ भने, अस्तिअस्ति किन ‘म पनि छोरी पढाउँछु, हाकिम बनाउँछु’ भनेकी ?’

हुन पनि मलाई उसले चन्द्रीलाई नलिई एक्लै आएकी देख्नासाथ अचाक्ली रिस उठेको थियो । अब चन्द्रीलाई लिन पठाऊँ भने पनि उसको घर छ एकादेशमा टाढा, जाँदा र आउँदै दिन बित्छ । यहाँ यत्तिको काम फेरि कसले गर्ने ? त्यसैले म एकनास एकोहोरो चिच्याएकी थिएँ ।

मेरो आक्रोश केही शान्त भएपछि मैले चन्द्रीमाईलाई राम्ररी हेरेँ । उ मेरा अघिल्तिर टाउको निहुर्याएर उभिएकी थिई, ‘मलकिन, म चन्द्रीलाई स्कुल नपढाउने विचार गरेँ।’ बडो सन्तुलित आवाजमा चन्द्रीमाईले आफ्नो विचार व्यक्त गरेकी थिई । अब आश्चर्यचकित हुने पालो मेरो थियो । छोरीलाई स्कुल पठाएर ठूलो मान्छे बनाउने सपना देख्ने यो आइमाई किन यसो भन्छे ? मलाई ठूलो कौतूहल भयो । ‘किन नपढाउने चन्द्रीलाई ? स्कूलमा नाम लेखाउने, ड्रेस किन्ने, किताब कापी किन्ने सबै पैसा मै हाल्दिन्छु, तेरो एक पैसा लाग्दैन लाटी, खर्च हुन्छ भन्ठानिस् कि के ?’ मैले भनेकि थिएँ ।

‘होइन हजुर! हजुरले खर्च दिने कुरा पैले मलाई सब थाहा छ तर ……।’ चन्द्रीमाइले कुरा रोकेर मेरा अनुहारमा हेरी । म उसको अपूर्ण जवाफ पूर्णरुपमा सुन्न झनै उत्सुक भएकी थिएँ । मैले उसलाई हेरिरहेँ । मैले त्यसरी उसलाई हेर्दा ऊ केही लाज माने जसरी निहुरी । उसले आफ्नो सिधा पल्लाको सारीको सप्कोको फेर अत्यन्तै तीब्र गतिले दाहिने हातले देब्रेहातमा बेर्दै खोल्दै गरिरहेकी थिई ।
‘अँ, भन्न के तर …? मलाई ढिला भइसक्यो, के तर …?’ मैले आफ्नो कौतूहल उसबाट लुकाउन खोज्दै केही झर्केर भनेकी थिएँ ।
‘मलकिन ! हजूरले यति धेरै पढेको छ, तबै पनि सधैँ नै मालिकसँग झगडा हुन्छ । मेरो मरदले पनि मलाई पिट्छ तर मैले त कहिल्यै पनि उसलाई पिटेको छैन । पढलिख गरेपछि चन्द्री पनि आफ्नो मरदलाई ……हाइराम……! मैले त चन्द्रीलाई स्कूल पढाउँदिन ।’ त्यति भनिसक्तानसक्तै चन्द्रीमाई भान्साघरतिर कुदेकी थिई ।