कविता : बेहाल

जमुना पौडेल

कविता : बेहाल

असार मैना पानीमा रुझी रोपाइँ गरेको
मङ्सिर आयो भकारी खाली बसाइँ सरेको
काँधमा जुवा बोकेर हलो खेतमा जोतिन्छ
अन्नको थुप्रो मालिक लिन्छ खमारै खोसिन्छ

कपडा छैन शरीर नाङ्गै जलेको घाममा
खाली है पेट पटुकी कसी व्यस्त छ काममा
सुकेको तन दुखेको मन थलामा परेको
कस्ले पो देख्छ श्रमिक आत्मा गलेर झरेको

कुहियो खर चुहियो घर मुस्किल जोगिन
गरिब हाल नसोधे हुने बेहाल जीवन
कसरी हेर्ने मरेको भोकै पसुझै भएर
गरौँन सेवा मानव हामी दयालु बनेर

जमुना पौड्याल
विराटनगर -३