पछुतो : प्रकाश खड्का “अभियान”

प्रकाश खड्का “अभियान”

लघुकथा : पछुतो

 प्रकाश खड्का “अभियान”

रसिला गुणवति थिइन् । बिहान सखारै उठ्थिन् ।बिहानको घर धन्दा सबै गर्थिन् । सधैझैँ खाना पस्कदै थिइन् । उनले विनम्र भएर सोधिन् – “भोलि आमाको मुख हेर्ने दिन हो, धेरै भयो माइती पनि नगएको केही खर्च दिनुहुन्थ्यो कि ? “

मैले कड्किंदै, “किन चाहियो पैसा ? फेरि किन जानु पर्यो माइती ? सासू पनि आमा सरह नै हो, उनकै सेवा गरे हुदैन भनेर जङ्गिएको थिए ।”

आँखाबाट आसुको ढिक्का खसाल्दै रसिलाले भनेकी थिइन् – “सासू आमाको त सधैं सेवा गरेको छदै छु नि, खर्च दिनुपर्यो भनेर नाकबाट पसिना आउछ हजुरको !” आ ऽ ऽ ….. जे सुकै होस् म त जाने हो माइत…… उन्ले घुर्की लगाउदै थिइन् ।

जे सुकै गर ….. सधैं खानेबेलामा केही न केही कुरा निकाली कलह निकाल्नु पर्ने, खाना नै नखाइ रिसले मुर्मुरिंदै म अफिस गएको थिए।

बेलुका अफिसबाट घर फर्कदै थिए ।बिछट्टै राम्री सानी, बस स्टपमा आइपुगिन् । सानीले मेरो नजिक आएर मस्किदै भनिन् – रमेशजी मैले हजुरलाई मनको राजकुमार ठानेको थिएँ । तर हजुरले अर्कैसँग बिहे गर्नु भो । थाहा छ, त्यो दिन म कत्ति रोएकी थिएँ । ।अहिले पनि मेरो माया हजुरलाई राधाकोभन्दा धेरै भनेर हातै समाएकी थिइन् ।

मेरो पुरुष हृदयमा कताकता गुदगुदी लागेको थियो ।अङ्ग अङ्ग थर्थराउन थालेका थिए। त्यतिकैमा सानीले मायालु पाराले फेरि भनिन् – “सुन्नुस्न् ! आमाको मुख हेर्न कोसेली लग्नु थियो ।´´

मैले पनि आ…… गर्दा अलङ्कार बुझेँ जस्तो गरेर सोधेँ – “पैसा चाहियो ?” लजाएको मुद्रामा टाउको हल्लाएर ‘हो’ भनेर इशारा मात्र गरिन् ।

मेरो पुरूष मन भित्रैबाट उम्लियो । उनलाई अङ्गालो मारेर भने – “लाटी मसँग जे छ, त्यो तिम्रै त हो नि, यसरी किन लजाउनु पर्यो नि “ भन्दै खल्तीबाट पैसा झिकेर दिए । चिया, खाजा खान भनेर रेस्टुरेण्ट पनि लगे । मौका पाएर उनीसँग लठ्ठिदै थिए। त्यही समयमा उनलाई कुनै पुरूषले बोलायो । उनी उठिन् । उसँग परिचय गराइन् । उहाँ मेरो पति, मलाई माइती छोड्न आउनु भएको, बाई ….. भनेर उसको बाइकमा चढिन् ।

त्यसपछि मलाई छाँगाबाट खसेजस्तो अनुभव भयो । घरकी श्रीमती सम्झिएँ । हतार हतार घरतिर बेगले हानिएँ ।