नवलपरासी(पूर्व) । गैडाकोट नगरपालिका-५ काङग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदी गरगहना र नगद चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली राधा कृष्ण चोक बस्ने दोलखा मलुङं गाउँपालिका-१ घर भएका २४ वर्षीय अनुज लामा, भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-३ घर भएका २८ वर्षीय तिर्थ बहादुर रुम्बा र भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने काभ्रेपलान्चोक धुलीखेल नगरपालिका-१२ घर भएका ४० वर्षीय जीत बहादुर तामाङ रहेका छन् ।
उनीहरूले २०७६ फागुन १८ गते बिहान उक्त पसलबाट तयारी सुनका गरगहान ६९ तोला ५ लाल सुन, चाँदीका गरगहना १ किलो तथा नगद ७ लाख रुपैयाँ लकर सहित चोरी भएको घटनामा संलग्न रहेको पाएको प्रहरीले जनाएको छ ।
अनुसन्धनाका लागि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, महानगरीय अपराध महाशाखा काठमाडौं, जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैडाकोटबाट संयुक्त रुपमा खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुको साथबाट विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, वारदातमा प्रयोग भएको मोबाइल ६ थान, सेफ लकर फोडिएको अवस्थामा १ थान, प्रदेश ३-०२-०१४ प ७७७५ नम्बरको स्कुटर १ थान तथा सेफ फोड्नका लागी प्रयोग भएका विभिन्न औचारहरु समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर डाँका चोरी मुद्दामा जिल्ला अदालत नवलपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।