” क्रान्ति ” : रमेन्द्र कोइराला

रमेन्द्र कोइराला

लघुकथा : ” क्रान्ति “

रमेन्द्र कोइराला

बुढी हजुरआमा, म क्रान्ति गर्न जान्छु।” बीसवर्षे
युवकले खुब जोसका साथ भन्यो ।
“जा पनाति जा !” सेतै केश फुलेकी बुढी आमैले शून्यतिर हेर्दै भनिन् – “जहाँसम्म मलाई सम्झना छ ।मेरा
बाजे, ससुरा बाका बाजेबा अङ्ग्रेज लडाइँमा क्रान्ति गर्दा
सहिद भए, उनका बाउदेखि छोरासम्म राणाको विरोधमा
क्रान्ति गर्दा सहिद भए, तेरा बा पनि सत्र साल पहिले
क्रान्तिमा लाग्दा सहिद भए । तँ पनि अब क्रान्तिमा लागेर
सहिद हो । तेरा छोरा, नाति, पनाति पनि एक पछि एक
व्यवस्थाको विरुद्धमा क्रान्ति गर्दै सहिद हुन्छन् । जस्तो
लाग्छ सबैको जीवन क्रान्तिकै लागि बनेको हो । तर कुनै
क्रान्तिले राम्रो व्यवस्था ल्याएन । यस्तो अवस्थामा एकमुठी तातो भात खाएर आनन्दसँग सुत्नु कहिले ?” भन्दै बुढी
आमैका चाउरिएका आँखाबाट अविरल आँसुका धारा बग्न थाले ।
तर पनातिको रगत उम्लिरहेको थियो । उसले कुरा सुनेन । बिदाई माग्दै ऊ अगाडि बढ्यो । बुढी आमैले चै देखुन्जेल हेरिरहिन्, हेरिरहिन्, जस्तो लाग्थ्यो उनको पनातिलाई हेर्ने त्यो हेराइ नै अन्तिम हेराइ थियो ।
–––००–––

इनरुवा -९ बबिया
सुनसरी