लाइटम्यानदेखि निर्देशकसम्म राजु घिमिरे

everest kitchen
राजु घिमिरे

कलाकार तथा निर्देशक राजु घिमिरेलाई परिवारले नेपाल आर्मीमा भर्ति गराउन चाहन्थ्यो । नेपाल आर्मीमा भर्ति भएपछि गरिखान्छ भन्ने परिवारको आशा हुन्छ ।

परिवारका कान्छा छोरा राजुले बुबाको आशालाई निराशामा परिणत गरिदिए । उनी त सानैदेखि कलाकार पो बन्दै हिडे । गाउँमा हुने सांस्कृतिक कार्यक्रममा सँधै अग्रपंक्तिमा हुने, मेलापर्वमा नृत्य तथा प्रहसन गर्ने र नाटकमा अभिनय गर्न थाले ।

Add
advertise

इलाम जिल्लाको चुलाचुली बाह्रकोठेमा राजुको जन्म भएको हो । उक्त ठाउँ अहिले झापाको कमल गाउँपालिकामा पर्छ । बुबा गंगाप्रसाद घिमिरे र आमा देउमाया घिमिरेका कान्छा छोरा राजुले शहिद धर्मभक्त मावि, झापामा प्रारम्भिक शिक्षा शुरु गरेका थिए ।

झापामा भूल भन्ने नाटक खेल्दा राजु चर्चित भए । उक्त चर्चासँगै कलाकार प्रेम पन्दाकसँग चिनजान भयो । पन्दाकले किशोर सुब्बासँग भेट गराइदिए ।

तपाईसँग काम गर्न चाहन्छु भन्दा दायाँबायाँ नहेरी काम दिने सुब्बाले राजुलाई चलचित्र विछोडमा प्राविधिक काम दिए साथै सानोतिनो भूमिका पनि पाए । त्यसपछि चलचित्र क्षेत्रमा लाइटम्यानबाट छायांकन क्षेत्रको विभिन्न प्राविधिक काम भ्याए ।

यसबिचमा मालतीलगायतको टेलिचलचित्रमा काम गरेका राजुले ठूलो पर्दामा काम गरेको चलचित्र ‘मनै त हो’ भन्छन् । किशोर सुब्बाद्वारा निर्देशित यस चलचित्रले ठीकठीकै चर्चा पाएको थियो ।

राजु प्राविधिक कार्यको लागि गएका हुन्छन्, छायांकनस्थलमा पुगेपछि केही न केही भूमिका गर्नैपर्ने हुन्छ । ठूले, बाजी, माझीदाई, एकनजर, विश्वास, खुड्किलो, अभियुक्त लगायत कैयौं चलचित्रमा उनलाई देख्न सकिन्छ । त्यसैगरी धेरै भाषिक चलचित्रमा पनि उनको अभिनय छ । भाषिक चलचित्रहरूमा चाही पण्डितलगायतका भूमिका उनैका थाप्लोमा आइपर्ने बताउँछन् ।

कामकै शिलशिलामा ३० वटा जति चलचित्रमा सहायक निर्देशक बन्न भ्यास्सकेका छन् भने केही म्युजिक भिडियोका निर्देशन गरेका छन् । सन्देशमुलक नाटकहरूसमेत निर्देशन गरिसकेका राजुले भविष्यमा चलचित्र निर्देशन गर्ने तयारी पनि गरिसकेका छन् ।

चलचित्र निर्देशन गर्नु चानचुने कुरो होइन । त्यसैले अहिलेदेखि नै विविध तयारी गर्नुपर्ने हुन्छ । त्यही तयारीकै रूप ठान्छन् –जेपिजे इन्टरटेन्मेन्ट नामक युट्युव च्यानलको लागि घुँयेत्रो सिरियलको निर्देशन शुरु गरेका छन् । जसको भाग १ सार्वजानिक भइसकेका छन् भने यसलाई लामो समयसम्म बनाउँदै लैजाने उनको ध्येय छ ।

(नयाँअनलाइन बाट)

भिडियो