अधुरो सपना : जमुना पौड्याल

जमुना पौडेल

लघुकथा : अधुरो सपना

जमुना पौड्याल

सोहन, ए सोहन! के गर्दैछौ हँ ?” तलैबाट कोहोलो हाल्दै सोमा सोहनको कोठामा पसी । किताबको थुप्रोमा अडेस लागेर झोक्राएको सोहनलाई देखेर झसङ्ग भइ तर्सिई । उसले ठुलो स्वरमा हकार्दै भनी “के नुन खाएको कुखुरा झै झोक्राएको नि , के भयो ?”

“के हुनु नि ! यत्रो लोकसेवा तयारीमा गरेको लगानी बालुवामा पानी खन्याए झै भयो । न त आयोग नै खुल्ने अवस्था छ न त घर नै जान पाइयो ।तनावै तनावले थिचिएको दिमागले निष्कर्ष निकाल्नै छोड्यो ।” किताबको चाङतिर हेर्दै सोहनले भन्यो ।

“सबैको हालत उस्तै हो साथी ! सुर्ता गरेर के नै गर्न सकिन्छ र ? म पनि त पढ्नकै लागि आएकी हुँ नि । मेरो कमजोर आर्थिक अवस्था तिमीलाई थाहै छ । यो असारको धमाधममा घर जान नपाएर महङ्गीले थलिएकी छु । उता बुढाबुढी बाआमालाई कस्तो धमाधम होला । कुनै न कुनै उपाय होला कि अब त ।” आशाको भाव प्रकट गर्दै सोमा बोली ।

“निश्चित छैन सोमा ! यो महामारीले कहिले छोड्छ ? प्रकृतिमाथि विजय प्राप्त गर्ने होडमा दौडेकाहरूलाई लोप्पा ख्वायो प्रकृतिले तर यसको मारमा हामीजस्ता निम्न स्तरका व्यक्तिहरू पर्यौँ ।जागिर खाएर बिहे गर्नु पर्छ भन्ने साथीले सुब्बामा नाम निकाली छ ।अब त मलाई के हेर्थी होली र ? सरकारले आरक्षणकोटा बढाएर पचास पचास बनाउने हल्ला सुन्छु । एउटा गतिलो सरकारी जागिर खाएर घरजम बसाल्ने सपना पनि अधुरै हुने भयो ।” खिन्न भएर सोहनले भन्यो ।

विराटनगर -३