पछ्यौरीको आइसक्रिम

लघुकथा : पछ्यौरीको आइसक्रिम

खेमराज पोखरेल

बैसाखे सक्रान्तिका दिन लाग्ने सलहेस गोरराजा धाममा प्यार्प्यारे मुरली, झिलिमिली खेलौनाहरू, सिँदुरटीका, डमरुका तालमा बेचिने आइसक्रिम लगायत धेरै चटके सामग्री आकर्षणका केन्द्र थिए । मधेसका मेला धाममा पकाउँदै बेच्दै गरिएका जुलफीहरूले मेला भर्ने मानिसहरूको जिब्रो नरसाउने सवालै थिएन । बजिरहेको लाउडस्पिकर र कल्याङकुलुङ, तातो घाम र उडिरहेको धुलोले वातावरण नै उकुसमुकुस बनाइरहेको थियो । मेला भर्न जाने हुलमा सुन्तली पनि एक थिई । उसले घर भान्सामा चाहिने अगडम बगडम सामान किनेर झोलामा हाली । खटाएर दिएको सीमित पैसा सकिइसकेको थियो । घरमा रहेको तिन बर्से छोराको यादले सतायो । सुन्तली अन्य मानिसहरूले आआफ्ना छोराछोरी तथा परिवारका सदस्यका लागि जुलफी तथा अन्य सामग्रीहरू किनेको एक टक लगाएर हेरिरहेकी थिई । छोरालाई केही कुरा किनी दिने प्रबल इच्छा उसमा जागृत भयो । उसको मातृत्व त्यसै त्यसै सल्बलायो । उसले आफ्नो थैलीको सुर्काने खोली । थैलीले लाचारी प्रदर्शन गरिरहेको थियो । यत्तिकैमा तल्लाघरे साहिँलीले उसलाई बोलाएको स्वरबाट झसङ्ग भई ः

‘ए सुन्तली के हेरेकी लाटाले पापा हेरे जस्तो, छिटो आइज, घर जान हतार भइसक्यो, बज्यैले मार्लिन् नि ।’

मेलाको छेउमा एउटा ठुलो बाकसबाट आइसक्रिम झिक्दै बेच्दै थियो दोकाने । चिनी पानी जमाएर बनाइएका आइसक्रिम भर्खर भर्खर देखिन थालेका थिए यस्तै मेलाधाममा । उसले अहिलेसम्म आइसक्रिम खाएकी थिइन । दोकानेको डमरुको आवाजले सुन्तलीका पाइला दोकान अगाडि टक्क अडिए ।

आइसक्रिम दोकानको छेउबाट कसैले भन्दै थियो ‘ए साहिँली बुहारी, सुन्तली बैनी ! आओ है आइसक्रिम खाएर जाओ, जीवन बाँचुन्जेल त हो नि’ त्यो भर्खर भारतबाट छ महिनाको छुट्टीमा गाउँ आएको माथ्लाघरे ठुलो कान्छो थियो ।

‘भो भो दाजु अलि हतारो पो छ त ’ साहिँलीले प्रतिउत्तर हानी । सँगैजसो जोडिएर हिँडेकी सुन्तलीले साहिँलीलाई चिमोटी । त्यसको अर्थ ‘खाऊँ न खाऊँ’ भन्ने थियो ।

‘खाऊँ न हौ किन गाह्रो मानेको ?’ ठुलो कान्छाले पनि जिद्दी ग¥यो ।

दोकानेले दिएको बाँसको कप्टेरामा अडिएको आइसक्रिमलाई सुन्तलीले घुमाइघुमाई हेरी र जिब्रो निकालेर चाटी ।

‘ओ हो कत्ति चिसो ?’ सर्र गर्दै चिसो पेटभित्र पस्यो ।

यसैबेला उसलाई छोराको सम्झना आयो । उसले त्यो आइसक्रिमलाई अर्कोपल्ट चाटिन बरु पछ्यौरीको छेउमा पोको पारी । घर पुगेर पछ्यौरी खोली हेर्दा बाँसको कप्टेरो मात्रै थियो । आमाले के ल्याइदिइन् भनी छोरो हेरिरहेको थियो ।

ऊसँग मातृत्व बाहेक दिनलाई केही थिएन ।