नर्क : त्रिपुरा पोखरेल ” खरेल”

Add
advertise
त्रिपुरा पोखरेल ” खरेल”

लघुकथा : नर्क 

त्रिपुरा पोखरेल ” खरेल”

प्रसुनले होटलको बिल तिर्न खोज्दा दुई हजारको एक बन्डल भूईँमा फ्यात्त खस्यो ।उसकै छेउमा उभिएकी कामनाले उसलाई धनाढ्य व्यक्ति रहेछ भन्ने ठानी।
” प्रसुन तिमी मसँग बिहे गर्छौ ?” उसले आफ्नो नयाँ प्रेमीलाई उम्काउन चाहिन।
प्रसुनले आजसम्म त्यस्ती राम्री केटी भेटेको थिएन ।उसले आनाकानी नगरी स्वीकृति जनायो ।
दुबैले भाग्ने निर्णय गरे। कामनाले धन रोजी ,प्रसुनले सौन्दर्य रोज्यो।
बिहे भएको केही वर्षमै कामनाले आफूले सोचेजस्तो धन प्रसुनको बैंकमा देखिन । उसलाई आफूले जीवनमा ठूलो गल्ती गरेछु भन्ने लाग्यो । एक छोराकी आमा बनिसकेकी कामनाले पछुताउनु बाहेक अर्को उपाय देखिन।
एकदिन उसले लोग्नेलाई रक्सीको बोतल दिंदै भनी,” प्रसुन तिमीले घर , भान्सा हेर म बाहिरको काम गर्छु।”
प्रसुनले घरको काम सम्हाल्यो ,ऊ स्वतन्त्र भई। ऊ घरदेखि बाहिरको संसारसित डराउन थाल्यो।उसले रुपियाँ कमाएर परिवार पाल्नुपर्छ भन्ने पनि बिर्सियो।
“तँ पैसा नकमाउने कंगाल ,दरिद्र ।” बिहान उठेदेखि कामनाको झगडा शुरु हुन्थ्यो। स्वास्नीको रुपले भान्से बनेको प्रसुनलाई पनि झगडाको बानी बसिसकेको थियोे । तिनीहरुको छोरो डराउँदै बाबु आमाको झगडा हेरिरहन्थ्यो।
बिहे भएको बीस वर्षपछि पनि कामनाले रुपियाँ खेलाउन पाइनँ भन्दै लोग्नेलाई ताडना दिन छोडेकी थिइन । ऊ एकदिन पाखुरा सुर्किंदै आँगनमा निस्केर लोग्नेको कठालो समातेर हरबर पारी । घर गाउँलेहरूको झगडा मिलाउने कोशिस विफल भयो ।
” तँ जड्याहा , चुतिया, नामर्द । ” ऊ भित्रको कुरुप चरित्र फेरि बौलायो ।
प्रसुन मातेको थियो । उसले साहस बटुलेर भन्यो ” तैंले मलाई मत्तु , भान्से बनाइस् , तेरै कारणले म बाहिर काम गर्न जान पाइन ।
” ऐ भाते चुप लाग । तेरो भागबन्डा भएपछि म अर्कैसँग जान्छु । उसले लाज, सरमको सीमा पार गरी। परारै दुई बिसे नाघिसकेकी उमेरमा अर्काको पोइलाई उसले कब्जा गरेको कुरा गाउँघरमा गाइगुईं चलेको थियो ।प्रसुन आफ्नी सुन्दरी स्वास्नीबाट अलग हुन चाहदैनथ्यो, त्यसैले उसले थाहा नपाएको जस्तो गर्यो।
कामनाको चरित्र बारे उसको उन्नाइस वर्षे छोरोले पनि थाहा पायो। आफूले प्रेमीका बनाउने उमेरमा आमाले अर्को लोग्ने मान्छेलाई प्रेमी बनाएको कुरा उसलाई सह्य भएन, उसले एउटा साधा कागजमा लेख्यो – “आमा तिमीले रुपियाँको लागि आफ्नो इज्जत बेचिछौ … ! म यो नर्क जस्तो परिवार छोडेर सधैँको लागि जाँदैछु । तपाईंहरू झगडा गर्दै रहनुहोला।

(सिक्किम)