“अनिकालको बीउ” : भरत पुरी

Add
advertise
भरत पुरि

लघुकथा : “अनिकालको बीउ”

भरत पुरी   

चतुरेले कोरोनाको यो कहरमा खोक्न थालेको पनि हप्तादिन भैसकेको थियो । ज्यानपनि साबिकभन्दा बढी नै तातेको भान भयो , उसलाई। नाकले समेत खीर…खीर गर्दै निहुँ खोजिरहेकोले डाक्टरकहाॅं जचाउँन जाने नै निधो गर्यो।

“डाक्टर सा’ब !, पिसिआर(PCR) हो कि कुन्नि, के जाति परीक्षण गर्नुपर्यो.., शुल्क कति लाग्छ होला…?” नम्रतापूर्वक सोध्यो चतुरेले। नाडी छामेर डाक्टरले मुस्कुराउॅंदै, “मात्र रू. १५ हजार” बताए।

जाबो ५ सयको औकात नभएको चतुरेले “हुलमूल र अनिकालमा कुन्नि के के जोगाउनु” ? बाउले दिएको अर्ति सम्झ्यो। डाक्टरले मास्क खोलेको देखेर “मैकामा चौका हान्न” हत्त न पत्त उसले पनि खोलिहाल्यो। २/४ पटक खोक्यो र डाक्टरको नजिकै गएर जोडले हाच्च्छिउँ गर्यो। त्यसपछि मख्ख पर्दै फुर्तिकासाथ डाक्टरलाई भन्यो-“मैले हैन, डाक्टर सा’ब ! कोरोनाको टेष्ट त अब तपाईले गराउनुस् ! बरू तपाईको रिपोर्ट आएपछि तुरन्त खवर गर्नुहोला, त्यसपछि मैले त जचाउँनै नपर्ला कि? ”

न्युयोर्क