आशाको रङ

पञ्च विस्मृत

कविता : आशाको रङ

 पञ्च विस्मृत

मलाई यी उठ्दै गरेका
अग्ला घरहरुको रङ
खुब मन पर्छ
मानौँ कि उठ्दैछन्
नैराश्यताको जमिनलाई चिरेर
आशाका अग्ला टावरहरु ।

जहाँबाट आधुनिक चेत
र समावेशी विचारका आँखाहरु बालेर
सतीले सरापेको भूगोललाई
या भूगोलले साथ नदिएको माटोलाई
समृद्धिको क्यानभासमा हेर्न सकियोस्
जहाँ रङहरु खेलाएर
बहुरङ्गवादी ब्रस चलाएर
देशका असल कालिगडहरु
देश निर्माणमा अभ्यस्त देखिऊन् ।

खुब मन पर्छ
मलाई कलिला बच्चाहरुको
अबोध मुस्कानको रङ ।

एक बन्जरलाई लात मारेर
उदास मनको
मानौँ कि छुट्दैछ त्यो
कलिला
निर्दोष र चञ्चल ओँठहरुबाट
जसबाट सिर्फ प्रेम
र मानवताका कुरा
निक्लन सम्भव होस् ।

र, लाग्छ— पगालोस् आतङ्कवादी सोचलाई
बम, बारुदवादी खप्परहरुलाई
क्रान्ति माने
निश्चितलाई सत्ताप्राप्ति हैन
क्रान्ति माने ढिस्कानोलाई कुर्सीप्राप्ति हुँदैन
र, लाग्छ— पगालोस् त्यो मुस्कानले
अप्रजातान्त्रिक विचारलाई
एकात्मवादी अधिनायकवादलाई
सत्ता माने
कलमको आकार र मसीको रङलाई दण्ड हुँदैन
सत्ता माने अपराधीलाई पदप्रतिष्ठा हुँदैन
सत्ता माने निश्चित नाकमा
‘सुप्रिमेसी’ हुँदैन ।

र, लाग्छ उदावस् त्यो प्रेमील मुस्कान
समतावादी आमाको काखबाट
या हरेक बिहान नयाँ नेपालको पूर्वबाट
या हर मुलुकबासीका सन्तुष्ट ओँठबाट ।

कतैबाट आँगनमा
टपक्क सपना टप्केभैँm
टप्केका हिजोअस्तिका ती अनुहारहरुमा
देशको भविष्य कुँदिएको हुन्छ ।

जसरी सिङ्गो मुलुकलाई नापेर
उठ्दै गरेका अग्ला–अग्ला टावरहरुमा
जसरी खनिँदै गरेका नयाँ गोरेटोहरुमा
खाल्डाखुल्डी पुरिँदै गरेका
सडकहरुमा
नक्सा बनाउँदै गरेका इन्जिनियरका मस्तिष्कमा
उकालो उक्लिँदै गरेका यात्रीका चेहरामा
विकाशका गीत गाउँदै गरेका
गायकका शब्दमा
देशका खातिर
कविता लेखिरहेका कविका कलममा
या आफ्नो देश सम्झेर फर्किरहेका
पलायन युवाहरुका कदममा
पोतिएको हुन्छ आशाको रङ ।

मुटु भक्कानिएर आँखाको डिलमा अडिएको छ
एक पानी आशाको रङ ।

चारैतिर छाएको छ आशाको रङ ।

०००)