लापरवाही

Add
advertise
नवराज कोइराला

लघुकथा:- लापरवाही

नवराज कोइराला

उताबाट द्रुतगतिमा मोटरसाईकल चलाउँदै आएको एउटा केटो मेरै पसल अगाडिको बाटो हुँदै गुडिरहेको थियो । दुई फन्को बजार परिक्रमा गरिसकेपछि छेउमा रोकेर राखिएको एउटा ट्रकमा गएर ठोक्किएर ऊ त्यहीँ पछारियो । पैदल हिंडिरहेका यात्रुहरु एकैछिनमा जम्मा भए । जम्मा भएका मध्येबाट एकजनाले एम्बुलेन्सलाई फोन गरे । एम्बुलेन्स करिब दश मिनटमा आईपुग्यो तर एम्बुलेन्स चालक गाडिबाट ओर्लन मानेनन्। अर्का यात्रुले एम्बुलेन्स चालकलाई भने,” दाजु! बिचराको प्राणै जान थालिसक्यो, छिटो गाडिमा राखेर अस्पताल लगिहालौं न ?” एम्बुलेन्स चालकले उसको कुरामा त्यत्ति चासो दिएन र प्रहरी हेडक्वाटरमा फोन गरे । करिब २० मिनटपछि प्रहरीहरु घटना स्थलमा आइपुगे | त्यतिबेलासम्म घाईते केटो अचेत भैसकेको थियो | भिडलाई नियन्त्रणमा लिंदै हवल्दार साबले फोन गर्दै भने ,” हेलो सर! हजुरहरु यो ठाउँमा तुरुन्त आईदिनु पर्यो ।”
एकैछिनमा सेतो कपडा लगाएका तीन चार जना मानिस गाडिबाट ओर्लिए ।एउटाले घाईतेको नाकमा लामो सुई जस्तो भाँडो छिरायो । “छिटोछिटो गर्नुस् ” भन्दै कोही रुँदै थिए | कोही कराउँदै थिए । घाईतेलाई हेरिसकेपछि सेतो कपडा लगाउने मध्येबाट एकजनाले भने,” हेर्नुस् उसको मृत्यु भैसकेको रहेछ हामीले उसलाई बचाउन सकेनौं” भन्दै उनीहरु फर्किए । प्रहरीले घाईतेलाई बोकेर गाडिमा राखे । तर बेलुका समाचार सुन्दा त अचम्मको खबर आयो। समाचारमा भनिएको थियो,” आज दिउँसो मोटरसाइकलबाट दुर्घटना भएका एक यात्रुको तुरुन्त कोरोना टेष्ट गर्दा पोजेटिभ देखियो र उहाँको कोरोनाकै कारणले दु:खद मृत्यु भयो !”