लघुकथा: दोषी को ?
प्रभादेबी पौडेल
बुधे र मालतीको परिवारमा गरिबीले छाएको थियो। दुबैजना काममा मरी मेटेपनि प्रथामिक आवश्यकता पुरा गर्न भने निक्कै धौ धौ परिरहेको हुन्थ्यो।उनीहरुका दुई सन्तान थिए , पूजा ८ वर्षकी र छोरा राजु ६ बर्षको ! साहुको जग्गाको एउटा छेउमा सानो टहरो बनाई बसेका थिए।एउटा मात्र ठुलो कोठा थियो । खाने , सुत्ने सबै एउटै कोठामा सीमित थियो ।
दिन बित्दै गए । सन्तान ठुला हुँदै गए। छोरी पुजा बिस्तारै बुझ्ने हुदै गएकी थिई ।उत्तर बाल्याबस्थाको उमेर प्रश्नको , जिज्ञासाको , नक्कल गर्ने उमेर थियो। अलि अलि पिएपछि बुधे अलि असंयम हुन्थ्यो। तर मालती छोरा छोरीको डरले चिन्तित हुन्थी । पल्लो खाटको आवाजले पूजा झस्किन्थी। हररात ऊ बाबा आमाका सबै क्रियाकलापहरू, सुतेरै निदाएको भान पारेर अवलोकन गरिरहेकी हुन्थी। उसमा जिज्ञासा उत्पन्न हुन्थ्यो। खेल्न जाँदा साथीबीच दुलाहा दुलही बनाउने र बिहे गर्ने चलन सबैमा चलिआएको थियो।आफु ममी र त्यहि आफु बसेको जग्गाको साहुको छोरो मिलन ,जुन एघार बर्षको थियो उसलाई बाबा बनाउॅथी।ममी र बाबाबीच यस्तो कार्य गर्नुपर्छ भनेर सबै कुरा मिलनलाई सिकाई। उनीहरु दिन दिनै यसैमा रमाउन लागे।
एकदिनको कुरा हो,मालतीलाई काम गर्दा गर्दै निक्कै टाउको दुख्यो।उनी घर आइन्।शनिबारको दिन थियो।छोरा छोरी नजिकैको स्कूलमा बिहानैदेखि खेलिरहेका थिए। छोरा छोरीलाई लिन जाँदा उनले जे देखिन् , उनी छाॅगाबाट खसे झै भइन्। गाउॅमा हल्ली खल्ली मच्चियो। मालती रुँदै घरबेटी साहुकोमा पुगिन् -“हेप्नको पनि सिमा हुन्छ नि , हजुरको छोराले मेरी छोरीको बलात्कार गर्यो , म अब चुप लागेर बस्दिन ।” भन्दै मालती बुधेलाई मेलामा लिन गइन् । दुबै जना जंगिए। सबै जम्मा भए। प्रहरीलाई खबर गरे। मिलन केही बोल्न सकेन,त्यहाँ सबैले एउटै मुख लाएर भन्दै थिए –
“ यस्तो बलात्कारीलाई कडा भन्दा कडा सजाय हुनु पर्छ।´´