योगदान : मधू भण्डारी

Add
advertise
मधू भण्डारी

लघुकथा: योगदान

मधू भण्डारी

“आफ्नो गाउँ त आफैं मिलेर बनाए पो बन्छ । खाली अरुले गर्दैनन् भनेर कहाँ हुन्छ? त्यो खोल्सापारिको बाटो यो पाली पनि बनाएन भने बर्खामा कसरी ओहोरदोहोर गर्नु?खेतवारि सबै उतै छ । त्यति ढिस्को पन्छाएर अलिक माथिसम्म ढुङ्गाको गार्हो लाउन पाए यो पाली पहिरो खस्दैनथ्यो कि? अरुले जे सुकै गरुन् हेर चमेली म त ढुङ्गा पन्छाउन जान्छु ।”
बिरेले भात मुछ्दै चमेलीलाई आफ्नो मनको कुरा भन्यो ।
“अब तिमी एक्लैले गरेर कहिले सकिनु तेत्रो पहिरो पन्छाउने काम? म पनि जान्छु । एक्छिन पख म जुठाभाँडा सकाईहालु अनि सङ्गै जाउँला ।”
दुई घान मकै पोल्टामा हालेर जोईपोई कोदालो काँधमा हालेर हिडे बाटो पन्छाउन । बर्सै पिच्छे जाने पहिरोले खोल्सापारी बाटो पुरै छोप्छ । भारी बोकेर पहिरो खसेको ढिस्कोको वाटो ओहोरदोहोर गर्दा कति लडे कति घाईते भए तर बाटो बनाउन कोहि अघि सरेनन् । सबै मिलेर बाटो बनाउँ भनेर बिरेले गाउँलेलाई धेरै सम्झायो । समाजसेबि भन्दै चार गाउँ नाम चलेका बखत बहादुर कहाँ पनि धेरै चोटि पुग्यो । तर कसैले सुनेनन्। घाम पानी केही नभनी बिरेको बुढा बुढी मिलेर बाटो पन्छाएर सक्नै लाग्दा एक्दिन बखत बहादुर सुकिला लुगा लगाएर पुगे अनि दुइटा ढुङ्गा पन्छाउदै हात टक्टकाएर भने “आफ्नो गाउँ त आफै बनाउनपर्छ तिमिहरु खाली अर्काको मुख ताकेर बिग्रेका” भन्दै बाटो लागे। बिरे केही बोलेन । चुपचाप कोदालो चलाईरह्यो ।
एक्दिन मेलो परेर चमेली जान पाइन । लग्भग पन्छि पनि सकेथ्यो ढिस्को । बिरे एक्लै गयो बाटो बनाउन । साझ अबेर सम्म पनि बिरे घर नआइपुगेपछी चमेली बोलाउन गएकिथी । खै कसरी चिप्लियो क्षतबिक्षत अबस्थामा बिरे बाटोमुनी लडिरहेको भेटी । गाउँलेहरुलाई हारगुहार गरेर अस्पपाल लगि । बिरेको मेरुदण्ड नै भांचिएछ । महिनौ अस्पताल बसेपछि चमेलिले आफ्नो अपांग श्रीमानलाई घर ल्याएर मेलापात गरि दुई जनाको हात्मुख जोड्न थाली ।
एक्दिन गाउँको चौतारीमा भेला बसेछ । सम्मान कार्यक्रम रे भन्दै त्यतै लागि चमेली ।
“उहाँकै निरन्तर मेहेनत र योगदानले आज खोल्सापरिको बाटोको पहिरो पन्छिएर हिड्न लायक भएको छ । उहाँको योगदानको उच्छ प्रसंशा गरिन्छ” भन्दै ठूलो दोसल्ला ओढाएर गाउँलेले बखत बहादुरको योगदानको प्रशंसा गरिरहेका थिए । चमेलिलाई भने बाटो बनाउँदा थलिएको आफ्नो बिरेको याद आईरह्यो ।