वेदना : कृष्ण शर्मा “सुमु”

लघु कथा : वेदना 

– कृष्ण शर्मा “सुमु”

उसले अँगालो हालेर रून थाली। ब्याग हातबाट तल राखेर रमेशले गीतालाई सम्झाउँदै भन्यो – ‘म आइहाल्छु नि , तीन महीना त हो लाटी।’

‘भर्खरै विवाह बन्धनमा बाँधिएको जोडी हो। घरमा कमाउने रमेश मात्र हो। गीताले मनलाई बुझाउने कोशिश गरी।

रमेशले अँगालोबाट हात छुटाएर ब्याग टिप्यो। गीता भित्र पसेर फेरि रून थाली। रमेश तल बाटोमा आएर घरतिर हेर्यो। उसले मनमनै सोच्यो , कस्तो भाग्य पाएँ ?

गाडी चड़्ने बेला भयो। मनमा जाऊँ कि नजाऊँ, सोचेर दोधारमा परेको रमेशले आफ्नो कर्तव्यतिर नै जाने अठोट गर्यो।

गीता भने अब कहिले आउँछ होला भन्दै पिँड़ीमा बसेर रून थाली। यसरी रमेश आफ्नो ड्यूटीतिर लागेको पनि एक महिना भयो। फुर्सदमा फोनमार्फत् बातचित भइरह्यो ।

समयको साथ साथै गीताले मनलाई बुझाउने कोशिश गरे पनि आखिर यादहरू भने आलो मनमा रहिरह्यो।रमेश आउने दिनहरू पर्खिन्दै आएपछि यस्तो भन्छु उस्तो भन्छु भनेर गीताले कुराहरू मनमा खेलाइरही।

एक साँझको कुरा हो। गीताको नम्बरमा फोन आयो।
‘तपाईंको श्रीमान रमेश हो ?’
गीता अचम्म मान्दै ‘हो त ? किन?’
‘तपाईंको श्रीमान रेडलाइट ईलाकाबाट पक्राउ पर्नुभएको छ।’ गीताको मनमा असंख्य पीड़िहरूले एकैचोटि थिचेझैँ भयो। वाक्य बन्द होला जस्तो भयो ।

गीताले बिस्तारै सोधी ‘के भयो र?’
‘तपाईंको श्रीमानले नहुने जगामा गएर परस्त्रीसित सम्पर्क बनाएकोमा पक्राउ गरिएको छ।’
‘तपाईं कहाँबाट हो?’
‘म पुलिस चौकीबाट बोलेको’ भन्दा गीता छाँगोबाट खसी। उसले रमेशमाथि कति आशा र भरोसा साँचेकी थिई। भविष्यका कति कति मीठा सपनाहरू सजाएकी थिई। ती सबै एक फोनले चकनाचुर बनाइदियो। फोन सुन्दा सुन्दै उ मुर्छा परेकी थिई।

निकै दिनपछि रमेश घर फर्केर त आयो। तर घरमा ताला मात्र थियो।रमेश ब्याग राखेर सरासरी ससुरालीतिर लाग्यो ।

कति माफ माग्दा पनि गीता घर फर्किने कुरामा राजी भइन। आखिर दुवै सम्बन्ध तोड्ने निर्णयमा पुगे। रमेशले आफ्नो गल्तीमा पश्चाताप गरिरह्यो।

मिलनमोड़
हाल राँची