नेपाल प्रहरीलाई ‘लिडार स्पिड गन’ हस्तान्तरण

everest kitchen
photo file

काठमाडौं । यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन (Lidar Speed Gun) प्रदान गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई यातायात व्यवस्था विभागका महानिर्देशक ई. गोगन बहादुर हमालले ८४ लाख रुपैयाँ मूल्य बराबरका उक्त गन हस्तान्तरण गरेका हुन  ।

Add
advertise

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन हस्तान्तरणका लागि यातायात व्यवस्था विभागप्रति आभार व्यक्त गरेेेेका थिए । तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सिसिटिभी जस्ता प्रविधि अपनाईरहेको सन्दर्भमा उच्च प्रविधिको गन थप हुँदा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने उनले  विश्वास  व्यक्त गरेे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सडक दुर्घटनाबाट हुने जनधनको क्षतितर्फ नेपाल प्रहरी सजग र संवेदनशील रहेको सन्दर्भमा यातायात व्यवस्था विभाग समेत संवेदनशील रही सडक सुरक्षाको लागि अझ लागी पर्नुपर्नेमा जोड दिए । विभागबाट यस्ता प्रविधिहरु थप जडान हुने अपेक्षा रहेको उल्लेख गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक ई. हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको बताए । समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जिपिएस प्रणाली जडान, स्मार्ट लाईसेन्स वितरण लगायतका कार्य गरिरहेको उनले चर्चा गरे । सवारी साधनको तीव्र गतिको कारण राज्यलाई ठूलो धनजनको क्षति भएको र सार्वजनिक सवारी साधनमा समेत अपराधजन्य घटना घटिरहेको अवस्थामा यसको न्यूनीकरणको लागि लिडार स्पिड गनको महत्व रहेको बताउँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य गरेर अगाडि बढ्ने समेत उनले  बताएका छन  ।
सो अवसरमा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले लिडार स्पिड गनबारे प्रस्तुतीकरण गर्दै सडकमा गुड्ने सवारीको गति मापन, सवारी साधन र सवारी चालक पहिचान तथा प्रमाण संकलनका लागि उक्त गन प्रयोग हुने जानकारी गराए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा.आशा सिंह र हरि बहादुर पाल, यातायात व्यवस्था विभागका निर्देशकद्वय तीर्थराज खनाल र रामचन्द्र पौडेल, विभागका प्राविधिक सल्लाहकार डा. पदम बहादुर शाही, प्रहरी नायव महानिरीक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

(नेपाल प्रहरी )