ग्रीन कार्ड र पिआर

गोमा सिटौला

लघुकथा : ग्रीन कार्ड र पिआर

गोमा सिटौला

दिदी विदेशमै सेटल भइसक्नुभएको थियो । म पनि श्रीमानसँग विद्यार्थी भिसामा विदेशमै थिएँ । आमाबुवा विदेश घुम्न आउनुभएको थियो । सुरुसुरुमा आमाबुवा यताको सफासुग्घर वातावरणमा रमाए पनि नेपालीहरूको दु:ख देखेर उहाँहरूलाई पटक्कै बस्न मन लागेन ।पारिवारिक भेट थियो । हामीहरू दिदीकहाँ गएका थियौँ ।
आमाले भिनाजुलाई हेर्दै सोध्नुभयो -“पि आर भइसकेको मान्छेको पनि हातभरि पोलेको र काटेको दाग हुन्छ त ज्वाइँ नारायण ?´´

“पि ,आर भयो भन्दैमा अर्काको देशमा बसी बसी खान दिन्छ त आमा ?´´ – भिनाजुले भन्नुभयो ।

“नेपालमा अधिकृतको जागिर छोडेर आउनुभएको, पढेलेखेको मान्छे, यता पनि हेडसेफ भन्नुहुन्थ्यो त ? ठूलो पोस्ट होइन र ?´´- आमाले सोध्नुभयो ।

“आलो घाउमा नुन नछर्किनुहोस् न आमा । हेडसेफ भनेको खाना बनाउने `भान्से´ हो ।´´ – अँध्यारो मुख लगाउँदै भिनाजु हाम्रो काम र पिआरको बारेमा सोध्न थाल्नुभयो।

किन हो, आमाको अनुहारमा आकाशमा काला काला बादल मडारिएझैँ देखिन्थ्यो । मलाई औंंलाले देखाउँदै भन्नुभयो -“खेत बेचेर पढाएर विदेश उडाइयो, यता होटेलको बेड मिलाउदै छे ।´´ “ अँ! तिमी `एज कियरमा´काम गर्छु भन्थ्यौ त्यता के काम गर्नुपर्छ?´´- दिदीलाई सोध्नुभयो ।

“बुढाबुढीको बच्चालाई झैँ स्याहार सुसार गर्ने हो।´´- दिदीले भन्नुभयो ।
“अंश दिने सासूससुरालाई पकाएर खुवाउन पर्‍यो भनेर कति गुनासो गर्थ्यौ । सुख खोज्न देश छोड्यौ झन् यता यस्तो पो काम ? जे होस् डलरमा शक्ति छ ।´´_ आमाले असन्तोष ओकल्नुभयो ।

सासूससुराको खेतबारी बाँझो नै छ । आफ्नै देशको माटो खने, डोको बोके बरु इज्जत कता कता । ठेला उठाएर कमायो यतैको सरकारलाई पोस्यो ।´´ – आमाले मेरो हात सुम्सुम्याउँदै सम्झाएर आफ्नै देश फर्कन कर गर्नुभयो ।
“हुन त हो आमा तर पिआर नलिई नेपाल फर्किन लाज लाग्छ।´´- म पीडा पोख्दै थिएँ ।

“उता दाइ अमेरिकामा ग्रीन कार्ड भन्छ । बहिनी चैँ यता पिआर भन्छे । पिआर पाएको दिदीको हालत पनि छर्लङ्ग देखिसकेँ । साच्चै यो ग्रीन कार्ड र पिआर भनेको चैँ के हो ?´´
आमाको प्रश्नले हल्लिखल्ली भएको कोठामा शून्यता छायो ।
सबैको चेहेरामा एक प्रकारको पीडा झल्केको आभास पाएँ । खुइय! गर्दै मौनता तोडेँ र मैले भनेँ _“आमा,ग्रीन कार्ड र पिआर भनेको केही होइन, मात्र एउटा मानसिक रोग हो ।´´