लाज : कान्ति पौडेल

कान्ति पौडेल

लघुकथा: लाज

कान्ति पौडेल

दिदिले जेठी छोरी आभालाई जन्माउँदा म भर्खर १३ पुगेकी थिएँ । ममा दिनदिनै शारीरिक परिवर्तन भइरहेको थियो। जसलाई पचाउन मैले सकिरहेकी थिइनँ । मलाई खुब लाज लाग्थ्यो। बढ्दै गएका स्तन देखेर म डराउँथे सकभर कसैको ध्यान मेरा स्तनप्रति नजाओस् भनेर म अघिपछि भन्दा अल्लि झुकेर हिडथेँ । मलाई दाइ भन्दा फरक भए भन्ने अनुभुतीले कोचिरहन्थ्यो। कट्टुमा मात्र लगाएर नुहाउने म अब देखि माथि गन्जी पनि लगाएर नुहाउनु पर्ने भयो भन्दा रून सकेकि थिइनँ ।

आभा तीन महिना पुगेपछि दिदी सुत्केरी बस्न आउनु भो। उ निकै सानी थिइ ,आमाले आगोमा सेकाउँदै तेल लगाउँदै गर्नु हुन्थ्यो। दिदीले दुध चुसाइ रहनुहुन्थ्यो। मलाई लाग्थ्यो, कति धेरै खाएकी यति सानीले नि। साना बच्चालाई रातदिन थाहा नै नहुने जति बेला नि सुत्ने जतिबेला नि उठ्ने, खान नपाए रूने।

३ महिना बसेर दिदी घर जानू भो। आभा १५ महिनाको पुग्दा भिनाजुको विदेश जाने हुनु भय‍ो। घरमा सासू नभएको कारण भिनाजुले नै दिदीलाई १/२ वर्ष माइत गएर बस् छोरीको स्याहार गर भनेर दिदी हामीसँगै बस्ने हुनु भयो।

म निकै खुसी थिए। दिदी आउनु भो, छोरी बाबा ममा दिदि उसकै आवाजमा भन्ने र एकदुई पाइला हिड्ने भएकी थिई।

दुदु भनेर आभाले छिनछिनमा दूध खान खोज्छे, कोट्याउछे, कपडा भित्र हात हाल्छे। खान खोजेपछि खुवाउनु नै पर्यो। अरूले देख्छन् अहिले खालिस् भनेर नहुने अझ उसलाई एउटा दूध खादै अर्को दूध खेलाउदै गर्नुपर्छ। फेरि खुवाउन केही अबेर भयो कि रोइहाल्छे।
दिदिले बाबा र दाइको अगाडि नै छोरीलाई दूध खुवाउँछे।देखाउने खुवाउने दिदी छे अचम्म छ लाज भने मलाई लाग्छ।
मलाइ मेरा अङ्गहरूमा भएको परिवर्तनलाई हेर्न भित्रभित्रै कताकता अप्ठ्यारो र डर लागिरहन्छ। मैले ममा भएको परिवर्तन अझसम्म नियालेर हेरेकी पनि छैन। सोचिरहेछु के दिदीलाई लाज नै छैन?

बेलुकी म होमवर्क गर्दै थिए, आभा काखमा दूध चुस्दाचुस्दै निदाएकि थिई। एक्कासि दिदीलाई सोधेँ -” दिदी तपाइलाई लाज लाग्दैन?
दिदीले मेरो मुखमा हेरेर हाँस्दै भन्नू भो।
पछि आफूलाइ नै परेपछि थाहा पाउछेस्। कतिन्जेल लजाएर चल्छ र कान्छि। कर्तव्य र परिस्थितिका अगाडि लाज केही पनि होइन।

दिदीको कुरा त बुझिन तर पछि दिदीको जस्तै मेरो पनि लाज हट्छ भन्ने चाहि बुझेँ । होमवर्क गरिरहेको आफ्नो कपिमा लेखेँ लाज मान्ने सकिन्जेल हो।