लघुकथा : सहयोग
आस्था निरौला
हरहर महादेव ! हरहर महादेव ! भन्दै भजन मण्डली गाउँभित्र छिर्यो ।त्रिकाल बाबासहित चिच्याउँदै गईरहेको भजन टोली मन्दिरतिर जादैँ थियो | यो देखेर सबै गाउँलेहरू पनि उतैतिर गए | सबै बाबा कहाँ भविष्य हेराउन ब्यस्त थिए | जयजयकार गर्दै थिए । तर रामु भने भक्तजनले अर्पण गरेका भेटी , फलफूल आदि थन्क्याउन व्यस्त थियो ।पर बसेको श्यामलाल रामुको गतिविधि हेरिरहेको थियो ।
श्यामलाल छक्क पर्यो । यो लुटेरालाई तह लाउनु पर्यो भनेर ऊ गाउँमा गयो । रामु र बाबाको कर्तुत गाउँलेसमक्ष उदाङ्गो पार्नु थियो । यसलाई नाङ्गेझार नपारी भएन भन्ने सोच्यो । सोझा गाउँलेलाई ठग्दो पो रहेछ । सबै मिलेर भोलिबिहान त्यसलाई पकडनु पर्छ भनेर योजना बन्यो । भोलिपल्ट बिहानै ऊ रिसले मुर्मुरिदै मन्दिर पुग्यो । त्यहाँ पुग्दा बाबा र रामु कोही थिएनन् | सोधिखोजी गर्दै जाँदा रामु पल्लो गाउँमा गएको भन्ने पत्ता लाग्यो |श्यामलालले सबै गाउँलेहरूलाई लिएर अर्को गाउँ गयो । त्यहाँ पुग्दा , एउटा बृद्वाश्रम खोलिएको सबैले देखे । करिब तीस, चालिस जना बुढाबुढीहरूलाई रामु र उसको साथी बाबाले केही लुगा फाटो दिएको र फलफूल बाँडिरहेको देखे । यो देखेर सबैले टाउको झुकाए । श्यामलालले गलत सोचेकोमा माफी माग्यो ।