मेरो गाउँ लाहाचोक, सामान्य चिनारी : राजु क्षत्री अपुरो

लाहाचोक

राजु क्षेत्री “अपुरो”

पोखरादेखि १३ कि. मी. उत्तर पश्चिममा अवस्थित लाहाचोक , माछापुच्छ्रे हिमालको फेदीमा बसेको सुन्दर गाउँ हो। यो गाउँलाई एउटा नदी र दुइटा खोलाले छुट्याएको छ। गाउँको पूर्वमा पुरन्चौर , उत्तरमा घाचोक , दक्षिणमा हेमजा र पश्चिममा धिताल र रिभान रहेको छ।

पहाडी प्रदेश भएपनि यो गाउँको अधिकांश भूभाग समथर रहेको छ। गाउँको भुभाग दुई खण्डमा बिभाजित रहेको छ। तल्लो खण्डमा भिरकटेरा क्षेत्र र मर्दी बेँसी रहेको छ। माछापुच्छ्रे ग्रामीण सडक निर्माण भएपछि यो क्षेत्रमा बस्ती बाक्लिन थालेको हो । यो क्षेत्रलाई खेतियोग्य जमिनको रुपमा लिइने गरिन्छ।

उपल्लो भेक घनाबस्ती र विशाल फाँट रहेको छ। यसको नामाकरण कसरी रह्यो भन्नेबारे ऐतिहासिक लिखित दस्तावेज छैन। तर जनश्रुतिलाई आधारित मान्ने हो भने कुनैबेलाका रजौटाहरू एक आपसमा लडाइँ गर्ने क्रममा सम्झौता अनुरुप लाहाको छाप लगाइएको स्थान हुनाले लाहाचोक हुन गएको हो भन्ने पनि सुनिन्छ। तर यो बारे थप अनुसन्धान हुनु आवश्यक देखिन्छ ।

जातजाति 

विभिन्न सांस्कृतिक कार्य र कार्यक्रममा पाहुना स्वागतको बाजा बजाउँदै स्थानीय

लाहाचोकमा बसोबास गर्नेमा जनसंख्याको आधारमा ब्राह्मण समुदायको बाहुल्यता छ। दोश्रोमा दलित समुदाय, तेस्रोमा रानाभाट समुदाय , चौथोमा ठकुरी, पाचौंमा क्षत्री समुदाय , छैटौमा नेवार , सातौँमा गुरुङ मगर, तामाङ्ग लगायत अन्य जनजातिको बसोबास रहेको छ ।

कृषि 

लस्तिखोला माछापालन

लाहाचोकका जनताको मुख्य पेशा कृषि हो। लाहाचोक नमुना कृषि गाउँ घोषणा भए लगत्तै कृषकहरूको उल्लेखनीय बृद्धि भएको पाइन्छ। लाहाचोकले उल्लेखनीय मात्रामा दूध तरकारी पोखराको बजारमा खपत गरिरहेको छ। यहाँ धान, मकै , कोदो र भट्मासको उत्पादन बढी गरिन्छ। राष्ट्रपति बाट सम्मानित इमान बहादुर गुरुङ्गको भैंसी फर्म लाहाचोक मै अवस्थित रहेको छ।

अन्य व्यवसाय 
बढ्दो जनसंख्या सँगै यहाँ अन्य पेशा अपनाएर जिविकोपार्जन गर्नेको सङ्ख्या पनि दिनानुदिन बढ्दै गैरहेको छ। होमस्टे , रेस्टुरेन्ट ,निर्माण व्यवसाय, दैनिक उपभोग्य बस्तुका पसल , आदिमा उल्लेखनीय बृद्धि भएको पाइन्छ।

शिक्षा 
शिक्षाको अवस्था र स्तर हेर्दा लाहाचोक पछि नै परेको छ । यहाँ धेरै कुराहरू २०४६ पछि नै फड्को मारेको पाइन्छ। यद्यपि अन्य छिमेकी गाउँको तुलनामा साक्षरता दर भने निकै कम देखिन्छ। ब्राह्मण समुदाय बाहेक अन्य जातिमा उच्च शिक्षा हासिल गर्नेहरूको संख्या आज पनि औँलामै गन्नु पर्ने अवस्था छ। शिक्षाको स्तरमा बृद्धि गर्न सबै पक्षको ध्यान जानु नितान्त जरूरी बनेर बसेको छ, मेरो लाहाचोक !

खेलकुद 

गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता बिजेता माछापुच्छ्रे त्रिशक्ति युनाइटेड लाहाचोक कास्की २०७५

लाहाचोकको मुख्य खेल फुटबल र सहायक खेल भलिबल हो। यहाँ पुरानो पुस्ता त दोहोरो खेलमा प्रख्यात मानिन्थे । तर पछिल्लो समयमा युवापुस्ता भलिबलतिर कम झुकाव भएको पाइन्छ। यसो हुनुमा धेरै कारण हुन सक्छन् तर एउटा कारण भलिबल प्रतियोगितामा हुने वादविवाद, शहरीया, अर्ध शहरीया युवाहरूको दादागिरी आदि कारणले लाहाचोकका युवाहरू आयोजना गर्नु भन्दापनि सहभागीता मात्रै जनाउनु लाई उपलब्धि ठानेको देखिन्छ ।

फुटबलमा भने खस्केको स्थितिलाई सम्हाल्दै वर्तमानमा ठुलै फड्को मारेको देखिन्छ। ग प्र स्तरीय फुटबल प्रतियोगितामा लगातार दुई पटक च्याम्पियन बनेर स्थानीय केही खेलाडीहरूले आफुलाई प्रमाणित गरिसकेका छन् । माछापुच्छ्रे गापाको केन्द्रबिन्दु भएका कारण र पर्याप्त जमिन भएकै कारण लाहाचोकमा रंगशाला निर्माणाधिन अवस्थामा रहेको छ। खेलकुदको रेखदेख अहिले माछापुच्छ्रे त्रिशक्ति युनाइटेडले गर्दै आइरहेको छ।

भौतिक पुर्वाधार/ बिकास निर्माण 
लाहाचोकले मुहार फेर्न थालेको पचासको दशकतिर मात्रै हो। टुकि बाल्नु पर्ने वाध्यता र पैदल हिड्नु पर्ने समस्याबाट मुक्त हुन थालेको दुई दशक मात्र नाघेको छ। हाल लाहाचोकमा निजी सवारी साधन पर्याप्त मात्रामा चल्ने गरेको देखिन्छ । तर सार्वजनिक गाडीहरू अझैपनि निरंन्तर र नियमित चल्न सकिरहेको देखिदैन।

लाहाचोकलाई धार्मिक तथा पर्यटकिय क्षेत्र भनेर चिनाउन जनप्रतिनिधिहरू पनि उत्तिकै लागिपरेको देखिन्छ। सरकारी बजेटबाट हुन लागेका केही योजनाहरू आगामी लेखमा उल्लेख गरिनेछ। मर्दिखोला , पातिखोला गुफा, सम्मी बगर, अर्मला देउराली आदिले थप मुहार फेर्ने नै छन् ।

आयको मुख्य श्रोत
कुनैबेला लाहाचोकमा केही अपवाद छाडिदिने हो भने धेरैजसोको आर्थिक स्तर निकै खस्केको अवस्था थियो। सयौँ युवाहरू बेरोजगार भएर बस्न बाध्य थिए। समयको चक्रसंगै वैदेशिक रोजगारीमा जानेको लर्को नै लाग्न थाल्यो। धेरैजसोले आफ्नो घरेलु अवस्थालाई मजबुत बनाउन वैदेशिक रोजगारीको सहारा लिए। युवाहरू कोरिया, खाडी मुलुक मलेसिया र केही युरोप अमेरिका जापान अस्ट्रेलियामा आदि देशमा पुगेर काम गर्न थाले। यो क्रम अझै पनि जारी छ।

राजनीतिक / प्रशासनिक क्षेत्र
हालसम्म लाहाचोकबाट न्यायालयमा उच्च पदमा पुग्ने एकजना , एक जना सिडियो ,५ जना प्रहरी अधिकृत, दुई जना सैनिक अधिकृत रहेका र रहिसकेका देखिन्छन् ।
स्वास्थ्य क्षेत्रमा एक जना मुटु र मस्तिष्क रोग बिषेशज्ञ रहेका छन् । तुलनात्मक हिसाबले स्वास्थ्य क्षेत्रमा योग्यता योग्यता हासिल गर्नेको संख्या पनि हातकै औंलामा सीमित रहेको देखिन्छ ।

वैदेशिक रोजगारबाट लाहाचोकका युवाहरूको भुमिका
लाहाचोकको बिकासमा वैदेशिक रोजगारमा रहेका युवाहरूले खेलेको भूमिका छुटाइयो भने मेरो यो लेख अधुरो नै हुन्छ। तसर्थ नेतृत्वदायी भूमिका खेलेका केही व्यक्तिहरूको नाम लिनु उपयुक्त ठान्दछु जसले गाउँ र गाउँलेप्रति देखाएको माया सद्भाव बिर्सिनु हुन्न भन्ने मलाई लाग्दछ। लाहाचोकमा अहिले सेवा दिइरहेको एम्बुलेन्स वैदेशिक रोजगारमा रहेका युवाहरूको देन नै हो। भुपु सैनिक तथा कल्याणकारी मञ्चलाई कतार लाहाचोक सेवा समाजका सँस्थापक अध्यक्ष कवि क्षत्री सल्लाहकार अजित नेपाली , कोरिया समाजबाट भगवान शाहीले खेलेको भुमिका अतुलनीय रहेको पाइन्छ।

यस्तै बानेटाकुरा लाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन परिकल्पनाकार राम जिसीको भूमिका र स्वदेश मै रहेका भुपेन्द्र कुँवरको भूमिकालाई बिर्सनु हुदैन। देउराली मन्दिर निर्माणमा कृष्ण शाही र रामचन्द्र शाही ,थप निर्माणमा कोरियामा कार्यरत लाहाचोकका युवा भाइहरूको भूमिका प्रशंसनीय देखिन्छ। गाउँ चिनाउन कवि क्षत्री र भगवान शाहीको सक्रियतामा बनाइएको भिडियो , स्वदेश मै रहेका सिबि उच्चैको एकल प्रयासमा गाउँको वृतचित्र , यी प्रशंसनीय कार्यहरू हुन् । यसैगरि गाउँको बिकास र भैपरी आउने समस्यालाई मेरो टिमले खेलेको भुमिका पनि स्मरणीय रहेको छ।

सगुन अधिकारी, ज्योती शाही , लबि क्षत्री वसन्त रानाभाट , गुणराज अधिकारी , अजित नेपाली , देव दवाडी, प्रेम जिसि, ज्योती शाही , सुन्दर हमाल , समीर शाही , स्वदेशमा रहेर व्यवस्थापन कार्यमा सहयोग पुर्याउने सुशील श्रेष्ठ, केशवराज अधिकारीको भुमिका महत्त्वपूर्ण रहेको थियो। यसैगरी स्वदेशबाट माया गुरुङ , बालकृष्ण अधिकारी आदिले पातिखोला गुफा निर्माणमा खेलेको भुमिकापनि म छुटाउन चाहान्न। वैदेशिक रोजगारमा रहि अर्जुन बहादुर शाहीको सहयोग अविश्मरणिय रहिरहनेछ।

कला /साहित्य 
लाहाचोकमा थुप्रै प्रतिभाशाली कलाकार जन्मिएपनि वर्तमानमा नाम चलेका कलाकारमा सिडि बिजय अधिकारी, समीक्षा अधिकारी , श्रीराम अधिकारी अनि पार्वती जिसी र तुलसा जिसी हुन् । केही युवाहरू आफ्नो प्रतिभा देखाउन कम्मर कसेर लागिपरेका देखिन्छन् । शङ्कर नेपाली, राजेन्द्र अधिकारी, जीवन सुनार यसका उदाहरणहरू हुन् ।

नाटक बिधामा भुपेन्द्र ढकाल , ममता कार्कीले पोख्रेली दर्शकको मन जितेका छन् । केहि युवापुस्ताहरू अवसरको खोजीमा देखिन्छन् । लिलाधर अधिकारी अभिलासी कविता गजलमा, बिजय बिरानु अधिकारी कविता , डिडि अधिकारी , बलराम पौडेल समिक्षकको रुपमा परिचित छन् । लेखनमा बामदेव पौडेल सक्रिय छन् भने लघुकथामा परिचय बनाउँदै गरेको म स्वयंको साधना पनि कम छैन भन्ने लाग्दछ। त्यो अरु पाठकलाई नै छाडिदिएँ ।

बस्ती बिस्तार
लाहाचोकमा बस्ती बिस्तार भएको इतिहास धेरै लामो छैन। सबै बाहिरबाटै आएर बसेको बस्ती हो। कसैले किनेर ,कसैले बिर्ता पाएर, अलि बलिया बाङ्गाले ओगटेर बसेका हुन् । भनिन्छ, सबैभन्दा पहिला रानाभाटहरू आएका थिए रे, त्यसपछि कतिपय ब्राह्मणहरू , धितालदेखि झरे । त्यसपछि दलित समुदायहरूको आवश्यकता महसुस गरियो । लडाईँ झगडा हुन नदिन , न्याय निसाफ दिन ठकुरीहरू ल्याइए। मौलो मन्दिरमा पुजापाठ गर्न पर्वतको मल्लाजबाट क्षत्रीहरू ल्याइए। कोही ठाउँ राम्रो लागेर आफैँ बसाईँ सरेर आए। यसरी सँरचना भएको गाउँ यो हो , मेरो लाहाचोक !